काठमाडौंमा इनड्राइभको स्थायी उपस्थिति सुरु

काठमाडौं – नेपालमा लोकप्रिय बन्दै गएको राइड–हेलिङ एप इनड्राइभले काठमाडौंमा आफ्नो पहिलो आधिकारिक कार्यालयको उद्घाटन गरेको छ। कम्पनीले यो कदम नेपाली ड्राइभर पार्टनर्सप्रति आफ्नो समर्पण, सेवा गुणस्तरमा सुधार, र स्थानीय समुदायसँगको सम्बन्धलाई थप मजबुत बनाउनका लागि चालेको जनाएको छ।
इनड्राइभको नयाँ कार्यालयले ड्राइभरहरूका लागि प्रशिक्षण, सहयोग तथा सीप विकास कार्यक्रम सञ्चालन गर्नुका साथै स्थानीयस्तरमै उनीहरूको आवश्यकता बुझ्ने प्रयास गर्नेछ। यसमार्फत कम्पनीले नेपालमा पारदर्शी, चालक–केन्द्रित र समावेशी मोबिलिटी प्लेटफर्मको रूपलाई अझै सुदृढ पार्न चाहेको बताइएको छ।
इनड्राइभका एपीएसी ९एशिया प्यासिफिक० क्षेत्रीय निर्देशक मार्क टोलीले भने, “हामी काठमाडौँमा कार्यालय खोल्न पाउँदा उत्साहित छौं। यो केवल कार्यालय मात्र होइन, यो हाम्रो ड्राइभर पार्टनरहरूको सफलतालाई सशक्त बनाउने केन्द्र हो।” उनका अनुसार नयाँ कार्यालयमार्फत ड्राइभरहरूले आवश्यक मार्गदर्शन, तालिम तथा समस्या समाधानका लागि प्रत्यक्ष पहुँच पाउनेछन्।
यसै अवसरमा इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले भनिन्, “काठमाडौंमा कार्यालय स्थापना गर्नु हाम्रो लागि विश्वासको प्रतिबिम्ब हो। हामीले सधैं ड्राइभरहरूको आवाज सुन्ने र उनीहरूको आवश्यकतालाई बुझ्ने संस्कृतिलाई प्राथमिकता दिएका छौं।” उनले थप भनिन् कि यो कार्यालय केवल सेवा विस्तारको प्रतीक नभई, चालकहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउने अवसर पनि हो।
इनड्राइभले कार्यालयमार्फत नियमित प्रशिक्षण, ड्राइभर सपोर्ट सेवा, सुरक्षा–केन्द्रित अभियान, र स्थानअनुसारको मार्केटिङ तथा साझेदारी कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
इनड्राइभको निष्पक्ष मूल्य निर्धारण मोडेल, प्रयोगकर्ता–मैत्री एप अनुभव र सेवा पारदर्शिताका कारण छोटो समयमा नेपाली प्रयोगकर्ताहरूको मन जित्न सफल भएको छ। काठमाडौंमा कार्यालय स्थापना गरेपछि इनड्राइभले अब नेपाली बजारमा दीगो र समावेशी यातायात प्रणाली निर्माणमा योगदान पुर्याउने आशा राखेको छ।
तपाईको प्रतिक्रिया