अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ: राष्ट्रपति पौडेल

सोमबार असार २, २०८२/ Monday 06-16-25
Paschim Today

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका आधारमा सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, सङ्गठनात्मक संरचनामा सबलीकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

चुरे संरक्षण दिवस २०८२ को अवसरमा आज नवलपरासीको कावासोतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठनको उद्देश्य अनुरूपका उपलब्धि हासिल भए/नभएको समीक्षा गरी यसतर्फ सम्बन्धित सबै पक्ष गम्भीर हुन जरूरी रहेको बताए ।

सो अवसरमा नवलपरासीको कावासोती नगरपालिका–३ मा अवस्थित २८ बिघा क्षेत्रको ज्योतीपुञ्ज सामुदायिक वनमा राष्ट्रपति पौडेलले बर र प्रथम महिला सविता पौडेलले पिपल रोपेर चुरे संरक्षण दिवस शुभारम्भ गरे । उनले चुरे संरक्षणको यति ठूलो जिम्मेवारी पाएको संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै संस्थाको काम प्रभावकारी हुने भन्दै यसतर्फ पनि ध्यान जानुपर्ने उल्लेख गरे ।

'राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत गल्छी पहिरो तथा खहरे रोकथाम, तालतलैया तथा सीमसार व्यवस्थापन, पोखरी निर्माण, नदी उकास जग्गा संरक्षण तथा वृक्षारोपण, कृषि वन कार्यक्रम, संवेदनशील क्षेत्र संरक्षणलगायतमा केही काम भए पनि राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति जुन उदेश्यअनुसार गठन भएको थियो त्यसअनुसार अझै उपलब्धि हाँसिल गर्न सकिएको छैन,' पौडेलले भने ।