गाजा विस्फोटमा सात इजरायली सैनिकको मृत्यु

बुधबार असार ११, २०८२/ Wednesday 06-25-25
Paschim Today

काठमाडौं । प्यालिस्टनको गाजास्थित खान युनिस सहरमा भएको एक विस्फोटमा सात इजरायली सैनिकको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)का अनुसार मंगलबार दक्षिणी गाजामा उनीहरूको बख्तरबन्द गाडीमा राखिएको बम विस्फोट हुँदा सात इजरायली सैनिकको मृत्यु भएको हो ।

आईडीएफका अनुसार उनीहरूको बख्तरबन्द वाहकमा विस्फोट र आगलागी हुँदा सैनिकहरू खान युनिस क्षेत्रमा थिए । यो गाजाको दोस्रो ठूलो सहर हो ।

सेनाले हालसम्म ६ जना सैनिकको नाम सार्वजनिक गरेको सीएनएनले जनाएको छ । उनीहरूको उमेर १९ देखि २१ वर्षसम्म भएको बताइएको छ । एकजनाको नाम अझै सार्वजानिक हुन बाँकी छ ।

मंगलबार भएको अर्को घटनामा, सैनिकहरूमाथि रकेट–प्रोपेल्ड ग्रिनेड प्रहार भएको थियो । आईडीएफका अनुसार दुई सैनिक घाइते भए पनि कसैको मृत्यु भएको छैन ।