कैलालीका १३ पालिकाले ल्याए १३ अर्बको बजेट

धनगढी । कैलालीका १३ स्थानीय तहले १३ अर्ब २६ करोड १४ लाख रुपियाँको बजेट ल्याएका छन् । जिल्लामा रहेका सबै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि आफ्नो पालिकाको बजेट सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरेका बजेट सभाबाट पारितसमेत भइसकेका छन् । जिल्लाको विकट पालिका मोहन्याल गाउँपालिकाको बजेट असार ८ गते पारित भइसकेको गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले बताए । सो पालिकाले ६१ करोड ५० लाख रुपियाँको बजेट प्रस्तुत गरेको थियो ।
जिल्लामा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाले दुई अर्ब ५६ करोड ५६ लाख रुपियाँको बजेट ल्याएको छ । यसैगरी, सबैभन्दा कम चुरे गाउँपालिकाले ५२ करोड ८७ लाख ९७ हजार रुपियाँको बजेट सभामा प्रस्तुत गरेको छ ।
टीकापुर नगरपालिकाले ९३ करोड ३७ लाख रुपियाँको बजेट सभामा प्रस्तुत गरेको छ । गोदावरी नगरपालिकाको बजेट एक अर्ब १८ करोड ४५ लाख रुपियाँ बराबरको रहेको छ । कैलारी गाउँपालिकाको बजेट ७२ करोड २५ लाख रुपियाँ रहेको छ । जोशीपुर गाउँपालिकाले ८३ करोड ८६ लाख ५९ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
जानकी गाउँपालिकाको बजेट ९१ करोड ३७ लाख रुपियाँ रहेको छ । यसैगरी, लम्कीचुहा नगरपालिकाको बजेट एक अर्ब २० करोड ९९ लाख रुपियाँ रहेको छ । यी दुइटै पालिकाले जिल्लामै सबैभन्दा अगाडि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।
बर्दगोरिया गाउँपालिकाले एक अर्ब दुई करोड ९१ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । गौरीगङ्गा नगरपालिकाले एक अर्ब एक करोड ७६ लाख, घोडाघोडी नगरपालिकाले एक अर्ब एक करोड ४० लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । भजनी नगरपालिकाले ६८ करोड ७३ लाख ६५ हजार रुपियाँ बजेट रहेको छ । जिल्लामा कतिपय स्थानीय तहको बजेट घटेको छ ।
तपाईको प्रतिक्रिया