‘जबज’लाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता : नारदमुनि राना

सुखड, कैलाली ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा कैलाली जिल्ला इञ्चार्ज नारदमुनि रानाले जननेता मदन भण्डारीको विचार र सिद्धान्तलाई व्यवहारमा उतार्नु आजको आवश्यकता भएको बताएका छन्।
मदन भण्डारी फाउन्डेसन कैलालीले घोडाघोडी नगरपालिका, सुखडमा आयोजना गरेको 'जनतासँग जबजको सान्दर्भिकता' विषयक विचार गोष्ठीमा बोल्दै उनले भने, “यदि मदन भण्डारीको नीति र सिद्धान्त सुरुदेखि नै लागू भएको भए, आज नेपालमा कम्युनिष्ट पार्टीहरूको खुद्रा पसल बन्द भइसक्ने थियो।”
उनले पार्टी र फाउन्डेसनबीचको भूमिका स्पष्ट हुनुपर्ने भन्दै आत्मसमिक्षाको आवश्यकता औंल्याए। “जबजका १४ विशेषतामध्ये हामीले कति अंगाल्यौं भन्ने विषयमा गम्भीर भएर मूल्यांकन गर्न जरुरी छ,” उनले भने।
पार्टीको हारजितको सन्दर्भमा उनले जबजले नेतृत्व र नेतालाई गाली गर्न होइन, मार्गनिर्देशनमा अगाडि बढ्न सिकाउने विचार दिएको बताए। “एमाले नेता र कार्यकर्ता भनेको गाली गर्ने होइन, संगठन र विचारलाई अनुशासनमा बाँध्ने हो,” रानाले स्पष्ट पारे।
उनले पार्टीको वर्तमान नेतृत्वप्रति विश्वास प्रकट गर्दै भने, “केपी शर्मा ओली पार्टीको मूल नेतृत्व हुनुहुन्छ। हामीले पार्टी अध्यक्ष र इञ्चार्जलाई मान्नैपर्छ।”
विकासको सन्दर्भमा उनले केपी ओलीको नेतृत्वमा सुदूरपश्चिममा उल्लेखनीय काम भए पनि प्रचार हुन नसकेको गुनासो गरे। “गेटा मेडिकल कलेज, सुख्खा बन्दरगाह, सेती लोकमार्गजस्ता परियोजनाहरू अगाडि बढाएका छौं, तर श्रेय अर्कैले लिएको छ,” उनले बताए।
उनले आगामी दिनमा सुदूरपश्चिममा थप विकासको गति दिने र आगामी निर्वाचनमा बलियो एकल बहुमतको सरकार बनाउने लक्ष्यमा पार्टी अग्रसर रहेको बताए।
तपाईको प्रतिक्रिया