मातादेवी शाहीको हत्यामा प्रहरीलाई सुराक भेटाउनै सकस

बिहीबार असार १९, २०८२/ Thursday 07-03-25
Paschim Today

कैलाली- बीभत्स हत्या भएको ८० वर्षीया वृद्धा मातादेवी शाहीको घटनामा प्रहरीले कुनै सुराक भेटाउन सकेको छैन । कैलालीको जानकी गाउँपालिका वडा नं. ९ अमरावतीकी शाहीको असार १७ गते बीभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीका अनुसार आफ्नो दुई तले कच्ची घरमा एक्लै बस्दै आएकी शाहीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । उनको टाउको, घाँटी र छातीमा धारिलो हतियारको चोट देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई घटनाको अनुसन्धान निकै सकस भइरहेको छ । प्रहरीले केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर पोलिग्राफ र नमुना परीक्षण गरिरहेको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी नवीन राजा बुढाथोकीले घटनाको अनुसन्धान जारी रहेको बताए। उनले केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिने र पोलिग्राफ तथा नमुना परीक्षण गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।

मृतक शाही घरमा एक्लै बस्दै आएकी थिइन । उनका एक छोरा काठमाडाैं र अर्को छोरा टीकापुर बस्दै आएका छन् । उनको बीभत्स हत्या पछि सो क्षेत्रका स्थानीयहरूमा त्रास फैलिएको छ । पछिल्लो समय लागुऔषध दुव्यर्सनीहरुको संख्या बढ्दै जाँदा लुटपाट, हत्या जस्ता घटनाहरू बढ्न थालेपछि स्थानीयहरू त्रसित भएका हुन् ।

दुई वर्ष अघि अमरावतीको एक सामुदायिक वनमा लागुऔषध प्रयोगकर्ताहरूले एक युवकको घाँटी रेटेर हत्या गरेका थिए ।