कैलालीमा मल अभाव,मारमा किसान

शनिबार असार २१, २०८२/ Saturday 07-05-25
Paschim Today

धनगढी — कैलालीमा यो वर्ष गत वर्षभन्दा बढी परिमाणमा मल आपूर्ति भएपनि धान रोपाइँका बखत युरिया मल भने अभाव हुन थालेको छ । यो वर्ष असार पहिलो साताबाटै रोपाइँ सुरु गरेका किसानलाई मल पाउन अघिल्लो वर्षभन्दा केही सहज भएपनि यतिबेला केही ढिलो गरी बल्ल धान रोपाइँमा जुटेका किसानहरूलाई भने युरिया मल पाउन समस्या भएको छ ।

‘यो वर्ष गत वर्षको तुलनामा बढी मल आएको छ’ कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय कैलालीका सूचना अधिकारी गणेशदत्त जोशीले भने, ‘यो वर्ष हालसम्म ११ हजार ७६२ मेट्रिक टन युरिया आएको हो, गत बर्ष ९ हजार ९६२ मेट्रिक टन आपूर्ति भएको थियो । यो वर्ष मलको परिमाण आएपनि युरिया अझै अपुग छ ।’ उनका अनुसार यो वर्ष छिटो रोपाइँ गर्नेहरूले सहजै युरिया मल पाउन सके भने ढिलो रोपाइँ गरिरहेका किसानहरूलाई केही कमी हुन गएको हो ।

जिल्लामा कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय र साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारी अनुदानको रासायनिक मल सहकारी संस्थामार्फत किसानलाई बिक्रिवितरण गर्दै आएको छ । जिल्लामा अनुदानको मल आपूर्ति गर्ने ती दुवै संस्थामा युरिया मलको मौज्दात रित्तिएको छ । कृषि सामग्री कम्पनीका सूचना अधिकारी जोशी भने विगतका बर्सहरू जस्तो मलको हाहाकार नभएको दाबी गर्छन् । ‘बढीमा १०/१५ प्रतिशत किसानलाई युरिया मल अभाव भएको छ, यसवर्ष अधिकांश किसानले समयमै मल पाएका छन्’ जोशीले भने ।

सूचना अधिकारी जोशीका अनुसार ग्लोबल टेन्डरबाट ठेक्का भई वीरगन्ज, विराटनगर र भैरहवा नाका भएर मल नेपाल भित्रिएपछि र त्यहाँबाट विभिन्न प्रदेश तथा जिल्लामा आइ पुग्छ । ‘धानखेतीका लागि बढी माग हुने गरेको युरिया र अन्य मल २/३ दिन बिराएर भैरहवा, विराटनगर र वीरगन्ज कार्यालयबाट आइरहेको जोशीले जानकारी दिए । ‘समयमै टेन्डर प्रक्रिया भएको हुनाले मल आपूर्तिमा खासै व्यवधान आएन’ जोशी भन्छन्, ‘यही गतिमा मल आपूर्ति हुने हो भने यो वर्ष गहुँबालीका लागि पनि समयमै मल उपलब्ध हुन सहज देखिन्छ ।’

किसानहरूका अनुसार धानबालीलाई अन्य मलसँगै युरिया भने बढी चाहिन्छ । धानखेतीका बखत रोपाइ अगावै खेत तयार भएका बेला बेशल डोजका रूपमा रासायनिक हाल्ने गरिन्छ । रोपाइ सकिएको २१ देखि ३० दिनको बीचमा टप ड्रेसिङलागि थप युरिया मल आवश्यक पर्छ भने धानको गाँज आउने बेला पनि युरिया मल चाहिने हुन्छ । ‘हालका वर्षमा नगदेबालीका रूपमा उखु, केरा, तरकारीखेती बिस्तार हुन थालेपछि युरिया, डिएपी र पोटास लगायतका रासायनिक मलको माग बढ्न थालेको हो’ कृषि सामग्री कम्पनीका जोशीले भने ।

 

 

कैलालीको दक्षिणपूर्वी भेग लगायत जिल्लाका कतिपय क्षेत्रमा अझै धान रोपाइँ भइरहेको कृषि सहकारी संस्था लम्की चुहाका प्रमुख डम्बर शाह बताउँछन् । उनकाअनुसार त्यहाँका किसानहरू युरिया मल नपाएर समस्यामा परेका छन् । ‘असार पहिलो सातातिर युरिया मल पाउन केही सहज भएपनि हाल आएर मल आपूर्ति गर्ने संस्थाहरूको गोदाम खाली भएका छन्, युरिया मलको चरम अभाव देखा परेको छ’ शाहले भने ।

कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय धनगढीको तथ्यांक अनुसार यो वर्ष ११ हजार ७६२ मे. टन युरिया आएकोमा ११ हजार ३१० मे. टन बिक्री भएको छ भने ८ हजार ८६२ मे. टन डिएपी आएकोमा ८ हजार ५७९ टन बिक्री भइसकेको छ । यसैगरि पोटास ९५७ मे .टन आइपुगेकोमा ४७६ मे. टन .बिक्री भएको छ । किसानहरूलाई मल बिक्रीवितरण अनुदानको मल निर्देशिका २०७७ अनुसार जिल्लामा रहेका सहकारी संस्था मार्फत हुने गरेको छ । रासायनिक मलको बिक्री मूल्य गतवर्षकै मूल्य हाल पनि कायम रहेको । कृषि सामग्रीले बिक्री गर्ने मूल्यमा सहकारी संस्थाहरूले कम्पनीको गोदामघरबाट ढुवानी लगायतको खर्च जोडेर मूल्य कायम गरेर बिक्री गर्दै आएका छन् ।

 

 

यता मलको अर्को मल आपूर्तिकर्ता साल्ट ट्रेडिङ धनगढीमा यो वर्ष आएको ४ हजार ४५६ मे. टन युरिया सबै बिक्री भइसकेको छ । गतवर्ष उसले युरिया ७ हजार २७ मे. टन र डिएपी ६ हजार १३० मे.टन र बिक्री गरेको थियो । ‘यो वर्ष पहिलो लटको मल आएपछि दोस्रो लटमा पनि मल आउने क्रम जारी छ’ साल्ट ट्रेडिङ धनगढीका प्रमुख रामचन्द्र जोशीले भने, ‘बुटवल– नारायणघाट सडक खण्डको अवरोधका कारण मल ढुवानीमा समस्या आएको हो, कम परिमाणमा भएपनि मल आइनै रहेको । जोशीकाअनसार साल्ट ट्रेडिङलाई प्राप्त मलमध्ये पालै पालै विभिन्न स्थानीय तहमा सहकारी मार्फत बिक्री गरिएको छ, अव कैलारी, गोदावरी र धनगढी क्षेत्रमा युरिया पठाउन बाँकी छ ।’ उनका अनुसार ५ सय मे.टन युरिया आउन अझै बाकी रहेको, । बाकी मल चाँडो भित्रिएमा धानखेतीलाई युरिया मल लगभग पुग्ने उनले बताए ।