प्रधानमन्त्री ओली र रेशम चौधरीबीच १ घण्टा वान टु वान वार्ता , मन्त्री बर्खास्तदेखि गठबन्धनसम्मका छलफल

सोमबार असार २३, २०८२/ Monday 07-07-25
Paschim Today

भानुभक्त आचार्य,

कैलाली- प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । बालुवाटारमा दिउसो करिब १ वान टु वान छलफल भएको हो ।

रेशम चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्री रामेश्वर चौधरीलाई विना कारण बर्खास्त गरेकोबारे प्रधानमन्त्री ओलीसँग कुरा राखेका थिए । मन्त्री बर्खास्त पछि प्रदेश र सङ्घमा आफ्नो पार्टीले समर्थन फिर्ता लिएको विषयमा पनि उनीहरुबीच संवाद भएको रेशम चौधरीको सचिवालयले जनाएको छ ।

‘दिउसो सवा १२ बजेदेखि उहाँहरुबीच करिब एक घण्टा बढी छलफल भएको थियो ’ स्रोतले भन्यो ‘पछिल्लो राजनीतिक अवस्था र सुदूरपश्चिम प्रदेशको मन्त्री बर्खास्त लगायतका विषयमा छलफल भएको हो । ’

बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपा चिढिएको थियो । शाह सरकार गठनमा आफूहरूले ठुलो भूमिका निर्वाह गरेको तर, अहिले विना कारण हटाएको भन्दै संरक्षक रेशम चौधरीले सरकारबाट तत्काल फिर्ता भएको जनाएका थिए । आजको छलफलमा पनि उनले प्रधानमन्त्रीलाई सुदूरपश्चिम सरकारबाट नाउपा बाहिरीको कारण र सङ्घीय सरकारमा गरेको निर्णयबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने बताएको चौधरीको सचिवालयको भनाइ छ । ‘प्रधानमन्त्री ज्यूले पनि सभापति देउवासँग कुरा गर्छु भन्नु भएको छ । उहाँ ( रेशम )ले पनि सभापति देउवालाई भेट्ने कार्यक्रम रहेको छ ’ रेशम निकट स्रोतले भन्यो ‘देउवालाई भेटेपछि थप विषय अगाडी बढ्छ ।’

शुक्रवार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता दिएको नाउपाले शनिवार सङ्घीय सरकारबाट पनि समर्थन फिर्ता लिने निर्णय गरेको थियो । आइतबार नाउपाको तर्फबाट राज्यमन्त्री रहेका अरुण चौधरीले राजीनामा दिने बताइएपनि प्रधानमन्त्री राति अबेर आएपछि राजीनामा बुझाइएको थिएन।

रेशम चौधरीले प्रधानमन्त्रीलाई भेटेपछि थप राजनीतिक सरगर्मी बढ्ने अनुमान गरिएको छ ।

देउवाको सन्देश बोकेर हिजो मुख्यमन्त्री शाह रेशम चौधरीलाई भेट्न बर्दियास्थित उनको घर पुगेका थिए । त्यहाँ उनीहरुबीच संवाद भएको थियो ।रेशम चौधरीले सत्ता समीकरणको छलफल केन्द्रमै हुने भनेका थिए । सोही अनुसार आज प्रधानमन्त्री ओलीलाई भेटका रेशमले देउवालाई पनि भेट्ने कार्यक्रम रहेको छ ।