गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिसबीच भेटवार्ता

काठमाडौं : गृहमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालिरहेका रमेश लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसबीच सोमबार भेटवार्ता भएको छ। गृहमन्त्रालयमा भएको उक्त भेटमा विदेशमन्त्री क्यासिस नेतृत्वको प्रतिनिधिमण्डल सहभागी थियो।
गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार भेटका क्रममा द्विपक्षीय सम्बन्ध, विकास साझेदारी र सहयोग विस्तारका विविध पक्षमा छलफल भएको थियो। गृहमन्त्री लेखकले नेपाल र स्वीटजरल्याण्डबीचको मित्रवत् सम्बन्धप्रति आभार व्यक्त गर्दै नेपालको विकास निर्माण, शान्ति प्रक्रिया र समावेशीकरणमा गरिएको सहयोगको प्रशंसा गरेका थिए।
‘दुई देशबीच विकास र आर्थिक साझेदारी बढाउने विषयमा कुरा भएको छ,’ प्रवक्ता तिवारीले भने, ‘जलवायु परिवर्तन र विपद् जोखिम व्यवस्थापनमा समेत सहकार्यका सम्भावनाबारे छलफल भएको छ।’ भेटवार्तामा जलवायु र विपद् मात्र नभई अन्य द्विपक्षीय चासोका विषयहरूमा समेत विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया