भोटेकोशी बाढी : बेपत्तामध्ये १३ जनाको शव फेला, एकको मात्रै परिचय खुल्यो

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका २० जनामध्ये १३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार भेटिएकामध्ये एक जनाको मात्रै परिचय खुलेको छ ।
प्राधिकरणले नेपाल-चीन सीमाबाट करिब ३५ किलोमिटरमाथि तिब्बती क्षेत्रमा अवस्थित प्यूरेपू हिमनदीमा रहेको सुप्राग्लेसियल ताल अचानक फुट्दा बाढी आएको जनाएको छ ।
बढ्दो तापक्रम र हिमतालहरूको तीव्र विस्तारका कारण हिमताल विस्फोटका घटना बढ्दै गएका छन् भने हिम-बाढीले महत्त्वपूर्ण पूर्वाधारहरूमा गम्भीर क्षति पुऱ्याएको छ । हालैको रसुवाको हिमबाढीले रसुवागढीस्थित नेपाल-चीन मितेरी पुल, रसुवागढी सुक्खा बन्दरगाहको ठूलो हिस्सा र सो क्षेत्रका तीनवटा जलविद्युत् आयोजनामा क्षति पुऱ्याएको छ ।
भन्सार पासको प्रतिक्षामा रहेका ट्रक, कन्टेनर र विद्युतीय सवारीहरू बगाएको र डुबाएको छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको करिब १६ किलोमिटर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
रसुवागढी–केरुङ व्यापारिक मार्ग ठप्प हुँदा अरबौं रूपयाँ बराबरको आर्थिक क्षतिको आशंका गरिएको छ । सम्बन्धित मन्त्रालयहरू र स्थानीय तहहरूको सहयोगमा क्षतिको विस्तृत मूल्यांकन गर्ने कार्य अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।
तपाईको प्रतिक्रिया