विपद्को जोखिममा रहेका पाँच वडालाई उद्धार सामग्री

शनिबार असार २८, २०८२/ Saturday 07-12-25
Paschim Today

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाले विपद्को जोखिममा रहेका पाँच वडालाई उद्धार सामग्री हस्तान्तरण गरेको छ।

नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन समितिले महाकाली नदीको तटीय क्षेत्रमा रहेका र बाढीबाट बढी प्रभावित हुने वडामा उद्धार सामग्री हस्तान्तरण गरेको हो। बाढीबाट सबैभन्दा बढी प्रभावित हुने वडा ९, १०, ११, १२ र १३ वडामा लाइफ ज्याकेट, बेल्ट, रबर ट्युब, बुट, टर्चलाइट, हेल्मेट, र स्टे«चरलगायतका उद्धार सामग्री हस्तान्तरण गरिएको वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रकाश थापाले बताए।

उनले विपद्बाट प्रभावित वडा र महाकाली तटीय क्षेत्रमा रहेका वडाहरूलाई विपद्मा उद्धार सामग्री हस्तान्तरण गरिएको बताए। “सरकारले वडा ११, १२ र १३ वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ यी वडामा विपद् पूर्वतयारी गरिएको हो”, उनले भने, “यसले विपद्को समयमा उद्धारमा ठूलो सहयोग पुग्छ।”

यहाँको भीमदत्त नगरपालिका–१२ का वडाध्यक्ष भूपेन्द्रसिंह रावलले उद्धार सामग्रीले विपद्को समयमा ठूलो सहयोग पुग्ने बताए। “यहाँ महाकालीको बाढीले बस्तीहरू धेरै प्रभावित छन्”, उनले भने, “सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेकाले हामी पूर्वतयारीमा लागेका छाैँ।” सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणापछि बस्ती जोगाउन नेपाली सेनाले अहिले महाकाली नदीमा तटबन्ध निर्माण गरिरहेको छ।

गृह मन्त्रालयले गत जेठ ६ मा भीमदत्त नगरपालिकाका तीन वटा वडालाई विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणा गरेको थियो।