नाउपाको दोधारे नीति : पार्टी प्रतिपक्षमा,मन्त्री सरकारमा राज्यमन्त्री भन्छन् - राजीनामा बुझाइसके

भानुभक्त आचार्य,
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले १९ गते नाउपाको तर्फबाट प्रदेशमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरे । मुख्यमन्त्रीलाई जानकारी नगराई नियुक्ति दिएको आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेकोलगायतका आरोप लागेका मन्त्री चौधरीलाई बर्खास्त गरेलगत्तै संरक्षक रेशम चौधरीले पार्टी प्रतिपक्षमा बस्ने सामाजिक सञ्जालमार्फत जानकारी दिए । त्यसको भोली पल्ट सुदूरपश्चिम प्रदेशबाट बाहिरिएको नागरिक उन्मुक्ति पार्टीले २२ गते सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
संसदीय दलका नेता गङ्गा चौधरीको अध्यक्षतामा संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी प्रतिपक्षमा बस्ने र सङ्घीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
‘नागरिक उन्मुक्ति पार्टी हालसम्म सत्ता पक्षमा बसेर समर्थन गरिरहेकाले सरकारबाट गरेको अपेक्षा बमोजिम कार्य नभएको हुनाले नेपाल सरकारको सङ्घीय र प्रदेश लगायत सबै ठाउँमा समर्थन फिर्ता लिई प्रतिपक्षको बेन्चमा बस्ने र नेपाल सरकारको पर्यटन संस्कृति र नागरिक उड्डयन मन्त्रालयको राज्यमन्त्री रहेका माननीय अरुण कुमार चौधरी ज्यूलाई सरकारबाट फिर्ता बोलाउने कुरा सर्वसम्मतबाट पारित गरियो’ २२ गते संसदीय दलको कार्यालयका बसेको बैठकले गरेको निर्णयमा भनिएको छ ।
संसदीय दलको निर्णय संसद् सचिवालयमा जानकारी गराइ नाउपाको स्थान प्रतिपक्षमा बनाइएको थियो । त्यसपछि अध्यक्ष रन्जिता चौधरी प्रतिपक्षमा बसिन् भने राज्यमन्त्री चौधरीसहित संसदीय दलका नेता गङ्गा चौधरी र प्रमुख सचेतक लालवीर चौधरी संसद्मा उपस्थित भएनन् ।
संसदीय दलको बैठकबाट पार्टी प्रतिपक्षमा बस्ने निर्णय गर्दा अझै नागरिक उन्मुक्ति पार्टीको तर्फबाट राज्यमन्त्री अरुण चौधरी सोही पदमा छन् । नाउपा अध्यक्ष श्रेष्ठले सर्वसम्मतबाट पार्टी प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको हुँदा राज्यमन्त्रीले पनि राजीनामा दिने बताइन् ।
‘हामीले सर्वसम्मत प्रतिपक्षमा बस्ने निर्णय गरिसकेका छौँ राज्यमन्त्री ज्यूले राजीनामा दिनुहुन्छ ’ उनले भनिन् ।
पार्टी प्रतिपक्षमा बस्दा आफू सरकारमै रहेको भन्दै आलोचना झेलिरहेका राज्यमन्त्री चौधरीले भने आफूले शुक्रबारनै राजीनामा दिएको बताए । तर,स्वीकृत भएको वा नभएको भन्नेबारे आफूले जानकारी नपाएको उनको भनाइ छ ।
‘मैले हिजो सम्माननीय प्रधानमन्त्री ज्यूको सचिवालयमा राजीनामा पेस गरेको छु ’ उनले भने, ‘स्वीकृत भए नभएको भन्नेबारे मलाई जानकारी छैन ।’
२५ गते नै राजीनामा बुझाउन प्रधानमन्त्रीलाई भेटेको तर, अध्यक्ष रज्जिता श्रेष्ठसँग प्रधानमन्त्रीले संवाद गरेपछि राजीनामा नदिएरै आएको उनको भनाइ थियो । उनले शुक्रवार भने आफू प्रधानमन्त्री कार्यालय गएर राजीनामा दर्ता गरेर आएको बताए ।
राज्यमन्त्री चौधरीले राजीनामा दिएको दाबी गरिरहेपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा उनलाई राज्यमन्त्रीकै रूपमा उल्लेख गरिएको छ ।
यसैबिच आज नाउपाका बसै सांसदहरुहरुलाई रुपन्देहीमा बैठकलाई लागि बोलाइएको थियो । अन्तिम समयमा बैठक स्थगित भएपछि यस विषयमा त्यहाँ पनि छलफल हुन सकेन ।
तपाईको प्रतिक्रिया