एयर इन्डियाको विमान खस्नुअघि ककपिटमा दुई पाइलटबीच भएको थियो यस्तो कुरा

गत जुन १२ तारिख भारतको अहमदाबादमा विमान दुर्घटना भएको ठिक एक महिनापछि यसको प्रारम्भिक अनुसन्धान प्रतिवेदन जारी गरिएको छ। यो प्रतिवेदन भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले शनिबार (जुलाई १२ तारिख) सार्वजनिक गरेको हो। प्रतिवेदनले विमान भुइँमा बजारिनुअघि दुई पाइलटबीच भएको कुराकानीलाई प्रस्तुत गरेको छ। यो कुराकानी ककपिट भ्वाइस रेकर्डरमार्फत प्राप्त गरिएको हो।
रिपोर्टअनुसार, उडेको केही सेकेन्डपछि विमानका दुवै इन्जिन अचानक बन्द भए। त्यसबेला दुई पाइलटबीच भएका कुरा अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।
'तपाईंले कटअफ किन गर्नुभयो?'
विमान अहमदाबादस्थित विमानस्थलबाट बेलायतको लन्डनस्थित ग्याटविक विमानस्थलका लागि उडेको थियो। जसमा एटीपीएल लाइसेन्स प्राप्त क्याप्टेन (पीआईसी), सीपीएल लाइसेन्स प्राप्त सह-पाइलट र दस जना क्याबिन क्रु थिए। यस विमानका मुख्य पाइलट क्याप्टेन सुमित सभरवाल थिए र क्लाइभ कुन्दर पनि पहिलो अधिकारीका रूपमा उनीसँगै थिए। दुवै पाइलट मुम्बईका थिए र एक दिनअघि मात्र अहमदाबाद पुगेका थिए। उडानअघि उनीहरूले पर्याप्त आराम पाएका थिए।
यस उडानका क्रममा सह-पाइलटले विमान उडाइरहेका थिए र क्याप्टेनले निगरानी गरिरहेका थिए। उडेपछि विमानले भारतीय समयअनुसार १३:३८:४२ मा १८० नटको अधिकतम रेकर्ड गरिएको वायुगति हासिल गर्यो। लगत्तै इन्जिन १ र इन्जिन २ को इन्धन कट-अफ स्विच एक-एक गरी 'रन टु कट-अफ' स्थितिमा गयो, जुन एक सेकेन्डको फरकमा भएको थियो। इन्जिनको इन्धन आपूर्ति बन्द हुनेबित्तिकै इन्जिन १ र इन्जिन २ को गति टेकअफ स्तरबाट घट्न थाल्यो।
रिपोर्टअनुसार, ककपिट भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्कालाई सोधे- किन कटअफ गरेको? अर्का पाइलटले जवाफ दिए- होइन, गरेको छैन। रिपोर्टमा कुन आवाज कुन पाइलटको हो भन्ने कुरा स्पष्ट छैन। केही सेकेन्डपछि एक पाइलटले जमिनमा रहेका हवाई ट्राफिक नियन्त्रण अधिकारीलाई 'मेडे, मेडे, मेडे' सन्देश पठाए। उनीहरूले कुनै प्रतिक्रिया पाएनन् र तुरुन्तै विमान दुर्घटना भयो।विमान दुर्घटनास्थलका तस्बिर।
विमान दुर्घटनाको कारण अझै स्पष्ट भएन
अनुसन्धानकर्ताहरूले एयर इन्डियाको विमान दुर्घटनाको प्रारम्भिक रिपोर्टबाट दुई महत्त्वपूर्ण कुरा खुलासा गरेका छन्। पहिलो कुरा के हो भने उडेको केही सेकेन्डपछि विमानका दुवै इन्जिनका इन्धन कट-अफ स्विच रनबाट कट-अफ पोजिसनमा सरेका थिए, जसका कारण विमान अचानक १८० नटको गतिमा रोकियो। ककपिटको भ्वाइस रेकर्डिङमा एक पाइलटले अर्कालाई इन्जिन किन बन्द गरेको भनेर सोधे तर जवाफ गरेको छैन भन्ने आयो।
अनुसन्धान प्रतिवेदनबारे एयर इन्डियाको प्रतिक्रिया
एयर इन्डियाले दुर्घटनाबारे प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि विज्ञप्ति जारी गरेको छ। उसले 'दुर्घटनापीडित परिवारका पक्षमा उभिएको' र अनुसन्धान एजेन्सीहरूलाई पूर्ण रूपमा सहयोग गरिरहेको बताएको छ। विज्ञप्तिमा रिपोर्टका विवरणबारे कुनै टिप्पणी गरिएको छैन।
विज्ञप्तिमा भनिएको छ, ‘एयर इन्डिया एआई१७१ दुर्घटनाबाट पीडित परिवारहरूको साथमा छ। हामी यो दु:खद घटनाले शोकमा छौँ र सबै सम्भावित सहयोग प्रदान गर्न प्रतिबद्ध छौँ। हामी १२ जुलाई २०२५ मा विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) द्वारा जारी गरिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको पुष्टि गर्छौं।’
उनले अगाडि भनेको छ, ‘एयर इन्डियाले नियामकहरूसहित सबै सम्बन्धित पक्षहरूसँग नजिकबाट काम गरिरहेको छ। हामी अनुसन्धानमा एएआईबी र अन्य अधिकारीलाई पूर्ण सहयोग गर्न जारी राख्नेछौँ। अनुसन्धान जारी रहेकाले हामी कुनै पनि विशेष विवरणमा टिप्पणी गर्न सक्दैनौँ र त्यस्ता सबै प्रश्न एएआईबीलाई गर्न आग्रह गर्दछौँ।’
जुन १२ मा अहमदाबादस्थित विमानस्थलबाट उडान एआई १७१ लन्डनका लागि उडेको केही समयपछि मेडिकल होस्टल भवनमा ठोकिँदै खसेको थियो। दुर्घटनामा चालक दलका सदस्यसमेत विमानमा रहेका २४१ यात्रु र मेडिकल होस्टल भवनमा बसेका २९ जनाको गरी २७० जनाको मृत्यु भयो। दुर्घटनामा विमानका एक यात्रु मात्र बाँच्न सफल भए।
विमान दुर्घटनास्थल
तपाईको प्रतिक्रिया