बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका बेला जानकी गाउँपालिका– ९ का खेमबहादुर चन्दका दम्पती भने कृषि तथा पशुपालनमा जमेका छन् ।
चन्द दम्पतीले कृषि तथा पशुपालनमा आफूलाई स्थापित गर्दै लगेका छन् । वडा नम्बर ९ मा खेमबहादुर चन्द र रिजना चन्दले २०७७ सालदेखि अमरावती बाख्रापालन कृषि फार्म सञ्चालन गरी कृषि कर्म गर्दै आएका छन् । अरुणोदय मावि खैरीफाँटाको आठ बिघा १६ कट्ठा जमिन लिजमा लिएर उनीहरूले बाख्रापालन गरिरहेका छन् । अहिले उनीहरूको खोरमा ७५ बाख्रा छन् ।
चन्द दम्पतीले बाख्रापालनबाट वार्षिक पाँच लाख रुपैयाँसम्म कारोबार गर्ने गरेका छन् । यसबाहेक सिजनअनुसारको खेतीपातीबाट समेत आम्दानी हुने गरेको उनीहरू बताउँछन् ।
सुरुमा परम्परागत रूपमा बाख्रा पालेका चन्द दम्पती व्यावसायिक बाख्रापालन गर्दा धेरै मेहनत गर्नुपरेको अनुभव सुनाउँछन् । ‘बाख्रापालन गर्दा विगतजस्तो चराउने चरन छैन, बाँधेर बाख्रा पाल्दा बढी मेहनत गर्नुपर्छ’, खेमबहादुरले भने, ‘सामुदायिक वन उपभोक्ताले संरक्षण थालेपछि बाख्राका लागि चरन अभाव छ । बाँधेर पाल्दा दाना र घाँस बढी चाहिन्छ ।’
यही पेसाबाट जीवन चलाइरहेका चन्द दम्पतीलाई रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले पनि सघाएको छ ।
‘हामीजस्ता वास्तविक किसानलाई अनुदान सहयोग हुनुपर्छ । आयोजनाले गरेको सूचनाअनुसार सहयोग लिइरहेका छौँ’, रिजना चन्दले भनिन्, ‘आयोजनाले खोर सुधार, खोर मर्मतमा सघाएको छ । घाँस काट्ने मेसिन, बोका सहयोग पाएका छौँ ।’
विभिन्न पालिकाले किसानलाई वितरण गर्न यहीबाट बाख्रा लिन थालेपछि उनीहरूले उत्पादन बढाउन थालेका हुन् । बजारको अभाव नभएपछि उनीहरूको ध्यान उत्पादनमा मात्र छ । यतिखेर उनीहरूको फर्म हेर्न स्थानीय कृषकहरू आउने गरेका छन् । लिजमा लिएको यही जमिनमा घाँसखेती र अन्य अन्नबाली लगाउने गरेका छन् । । यहाँ भएका बाख्रा स्थानीयस्तरमा पाइने जातकै छन् । बोका भने सिँचाइ आयोजनाले बयर जातको दिएको रिजनाको भनाइ छ ।
सुरुसुरुमा बाख्रा पाल्दा रोग लाग्दा समस्या झेलेका चन्द दम्पतीले आजभोलि बाख्रा बिरामी हुँदा खुवाउने औषधि र रोगबारे बुझेको बताए ।
यही बाख्रापालन र कृषि कर्मको आम्दानीबाट चन्दका छोरा कृषि विज्ञान स्नातक तह अध्ययन गरिरहेका छन् । बुबाआमाको कृषिको लगाव देखेर होला छोराले पनि कृषि अध्ययनमा रुचि देखाएको खेमबहादुरको भनाइ छ । बाख्रापालन गरेर छोराको पढाइ खर्च, घर खर्च सबै सहजै चलेको उनको भनाइ छ ।
सिँचाइ आयोजनाका पशु प्राविधिक पुष्पराज भारतीले चन्द दम्पतीले मेहनतअनुसारको फल लिइरहेको बताए ।
तपाईको प्रतिक्रिया