'प्रसाद २' का निर्माता बैंकिङ कसुरमा दोषी ठहर

काठमाडौं। फिल्म 'प्रसाद २' का निर्माता शुभाष थापा बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा दोषी ठहर भएका छन्।
काठमाडौं जिल्ला अदालतले थापालाई दोषी ठहर गर्दै जरिवाना र कैद सजाय सुनाएको छ।
जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार थापालाई मागबमोजिम बिगो ३२ लाख ५० हजार रूपैयाँ भराउने, त्यसको पाँच प्रतिशत जरिवाना र १५ दिन कैद सजाय तोकिएको छ।
असार २९ गते (आइतबार) न्यायाधीश कपिलमणि गौतमको इजलासले थापालाई दोषी ठहर गरेको हो।
सुभाष थापाविरूद्ध 'प्रसाद २' फिल्म निर्माणको क्रममा ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो।
व्यवसायी समेत रहेका केशव पाण्डेले थापाविरूद्ध प्रहरीमा जाहेरी दिएका थिए।
थापाले 'प्रसाद–२' को निर्माता बनाउँछु भन्दै आफूसँग ६२ लाख ५० हजार लिएर पछि अर्कैलाई निर्माता बनाएर फिल्मको छायाँकन गरेको पाण्डेको भनाइ छ।
थापाले चेक दिएकोमा चेक नसाटिएपछि पाण्डेले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरी परेलगत्तै थापा फरार छन्।
'प्रसाद २' रिलिजमा नआउँदै विवादमा तानिएपछि थापाले फेसबुकमा लेख्दै रिलिजको वातावरण बनाइदिन आग्रह गरेका थिए।
रिलिज भएपछि सबैको पैसा तिर्ने दाबी समेत उनले गरेका थिए।
फिल्मले व्यापार भने राम्रो गर्न सकेन्। फिल्मका प्राविधिक तथा कलाकारहरूले समेत पारिश्रमिक पाउन नसकेको बताइएको छ।
तपाईको प्रतिक्रिया