सुदूरपश्चिममा ९३ प्रतिशत रोपाइँ सम्पन्न

बिहीबार श्रावण २, २०८२/ Thursday 07-17-25
Paschim Today

डडेलधुरा । सुदूरपश्चिम प्रदेशमा हालसम्म ९३ प्रतिशत रोपाइँ भएको छ । नौ वटा जिल्ला रहेको यस प्रदेशमा एक लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ । 

 

 

कृषि विकास निर्देशनालय दिपायल डोटीका सूचना अधिकारी केशव पाण्डेयले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेशमा कुल खेतीयोग्य जमिन तीन लाख ५९ हजार ९११ हेक्टर क्षेत्रफल रहेको छ । 

उनका अनुसार हालसम्म सबैभन्दा बढी रोपाइँ कैलाली जिल्लामा भएको छ । कैलालीको रोपाइँ हुने क्षेत्रफल ६७ हजार ४२ हेक्टर क्षेत्र हो । यसमध्ये हालसम्म ६६ हजार ८७ हेक्टर क्षेत्रफल (९८ प्रतिशत) मा रोपाइँ भइसकेको छ । 

कैलालीपछि हालसम्म बढी रोपाइँ हुने मध्यपहाडी जिल्ला डडेलधुरा हो । यस जिल्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । डडेलधुरामा छ हजार १२० हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ । हालसम्म पाँच हजार ८१४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । 

क्षेत्रफलका हिसाबले कैलालीपछि सबैभन्दा बढी रोपाइँ हुने जिल्ला कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ । हालसम्म ४५ हजार १०१ हेक्टर क्षेत्रफल (९३ प्रतिशत) मा रोपाइँ भएको छ । 

तराईका दुई वटा जिल्लाबाहेक सात पहाडी र हिमाली जिल्लामध्ये क्षेत्रफलका हिसाबमा सबैभन्दा बढी रोपाइँ हुने जिल्ला अछाम हो । अछाममा १६ हजार ५९० हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ । हालसम्म १३ हजार ७७० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिँदा ८३ प्रतिशत रोपाइँ भएको छ । 

यसै गरी बझाङ जिल्लामा १० हजार तीन सय हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमा हालसम्म नौ हजार ६८२ हेक्टर क्षेत्रफल (९४ प्रतिशत) मा रोपाइँ भएको छ ।  बैतडी जिल्लामा कुल नौ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमा हालसम्म आठ हजार ४६० हेक्टर क्षेत्रफल (९४ प्रतिशत) मा रोपाइँ भएको छ । 

यसै गरी दार्चुलामा चार हजार ४८० हेक्टर क्षेत्रफलमा रोपाइँ गरिन्छ । यस जिल्लामा हालसम्म चार हजार १२५ हेक्टर क्षेत्रफल (९२ प्रतिशत) मा रोपाइँ भएको छ । 

हालसम्म सबैभन्दा कम रोपाइँ डोटीमा भएको छ । डोटी जिल्लामा कुल छ हजार ४२६ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिनेमा हालसम्म चार हजार ८२० हेक्टर क्षेत्रफल (७५ प्रतिशत) मा मात्रै रोपाइँ सम्पन्न भएको छ । 

यस्तै बाजुरामा ८४ प्रतिशत रोपाइँ भएको छ । सात हजार ३०३ हेक्टरमा रोपाइँ हुँदै आएकोमा अहिलेसम्म छ हजार १३१ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो ।