मिडिया काउन्सिल सरकारबाट पूर्णरूपमा अलग भएर बस्न सक्दैन : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल कुनै न कुनै रूपमा सरकारसँग जोडिनुपर्ने भएकाले सरकारबाट पूर्ण रूपमा टाढा राख्न नसकिने बताएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले भने, 'मिडिया काउन्सिल स्वतन्त्र र स्वायत्त हुनुपर्छ भन्ने कुरा सही हो र यसले सञ्चार क्षेत्रमा मर्यादा कायम राख्नुपर्ने पनि छ। तर, स्वतन्त्रताको नाममा सरकारबाट पूर्ण अलग भएर बस्ने कुरा संभव छैन।'
उनले थपे, 'सञ्चार क्षेत्र कहीँ न कहीँ सरकारसँग जोडिनैपर्छ। सरकारले हस्तक्षेप र नियन्त्रण गर्न सक्छ, त्यसैले हामीले स्वतन्त्र संयन्त्र विकास गर्ने प्रयास गरिरहेका छौं।'सरकारका प्रवक्ता समेत रहेका गुरुङले सञ्चार क्षेत्रमा अनुशासन र मर्यादा कायम गर्न स्वतन्त्र संयन्त्र निर्माण गर्ने ऐन ल्याइएको बताए। उनले भने, 'मिडिया काउन्सिललाई स्वतन्त्र, स्वायत्त र जिम्मेवार भएर काम गर्नुपर्नेछ। तर सरकारसँग कुनै न कुनै रूपमा जोडिएको हुनुपर्छ।'
मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत हुने साइबर अपराधको अवस्था गम्भीर रहेको भन्दै चिन्ता व्यक्त गरे। उनका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म १९ हजार ७३० वटा साइबर अपराध उजुरी परेका छन्। 'साइबर बुलिङदेखि ठगीसम्म धेरै उजुरी परेका छन्, जसमा ५० प्रतिशतभन्दा बढी बैंकिङ कारोबारसँग सम्बन्धित छन्।'
सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि सरकारले सामाजिक सञ्जालसम्बन्धी छुट्टै विधेयक संसदमा दर्ता गरिसकेको गुरुङले बताए। 'यसमा अपराधीलाई कस्तो कारबाही गरिने भन्ने व्यवस्था राखिएको छ र यसको अध्ययन हुनुपर्छ।'
राष्ट्रिय सभाबाट पास भएको मिडिया काउन्सिल विधेयकमा समितिले सैद्धान्तिक छलफल सकाएको छ र सोमबार तथा मंगलबार संशोधन गर्ने सांसदहरूसँग छलफल गर्ने तयारी गरिएको छ।
तपाईको प्रतिक्रिया