कञ्चनपुर लालझाडी –५ को कार्यालयमा चोरी

बिहीबार श्रावण ९, २०८२/ Thursday 07-24-25
Paschim Today

धनगढी । कञ्चनपुरको लालझाडी गाउँपालिका– ५ को वडा कार्यालयमा चोरी भएको छ । बुधवार राति अज्ञात समूहले कार्यालयको ढोका तोडेर महत्त्वपूर्ण सामग्रीहरू चोरेको हो ।

वडा अध्यक्ष पहलबहादुर थापाका अनुसार चोरहरूले कार्यालयको पछाडिपट्टिको ढोका र वडा सचिवको कार्यकक्षको ताला तोडेर प्रवेश गरेका थिए । उनका अनुसार एक थान कम्प्युटर, एक थान सीपीयू, एक थान ल्यापटप र एक थान भित्ते पङ्खा चोरी भएको छ ।

वडा कार्यालय हाल भाडाको घरमा सञ्चालित थियो र केही महिनापछि आफ्नै भवनमा सर्ने तयारीमा रहेकाले सीसीटीभी क्यामेरा जडान गरिएको थिएन । नजिकै रहेको स्वास्थ्य चौकीको सीसीटीभी क्यामेरामा पनि चोरीमा संलग्नहरू देखिएका छैनन्।

वडा सचिवले कामकाजका लागि प्रयोग गर्ने मुख्य कम्प्युटर नै चोरी भएपछि बिहीबारदेखि वडाको सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको छ ।

घटनाको खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको पहिचान र खोजीका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।