‘सेवाग्राहीले जहाँ सेवा लिन कार्यालय समय कुर्नु पर्दैन’

आइतबार श्रावण १२, २०८२/ Sunday 07-27-25
Paschim Today

अछाम, ११ साउन ।
सरकारी कार्यालय प्रति आम सेवाग्राहीको धारणा समान छ, समयमा काम हुदैन । अछामको जिल्ला प्रशासन कार्यालय भने अपवाद बनेको छ । सेवाग्राहीले सेवा लिन कार्यालय समय कुर्नु  पर्दैन ।

७६ वटा जिल्ला प्रशासन कार्यालय १० बजे खुल्छन् । र, पाँच बजे बन्द हुन्छन् । जिल्ला प्रशासन कार्यालय अछाम भने विहान ८ बजे खुल्छ । र, साँझ ६ बजे बन्द हुन्छ । 

कार्यालय समयमै सरकारी कर्मचारीहरु आफ्नो फाँटमा नभेटिने सेवाग्राहीले गुनासो गर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय अछामका कर्मचारीहरु भने समयभन्दा दुई घण्टा पहिले नै आफ्नो फाँटमा हाजिर हुन्छन् । र, सेवा दिन थाल्छन् । साँझ कार्यालय समयपछि थप एक घण्टा सेवा दिन्छन् । दैनिक थप तीन घण्टा सेवा दिए वाफत कर्मचारीहरुले भत्ता वा अतिरिक्त सुविधा भने लिदैनन् ।

सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालय अछामले कार्यालय समयभन्दा अघि पछि सेवा प्रवाह गर्ने निर्णयमा कर्मचारीहरुले साथ दिएका हुन् ।

पत्रकार गोविन्द खड्का काठमाण्डौंबाट प्रशासनिक कामका लागि शुक्रवार विहान ८ः३० बजे अछामको मंगलसेनस्थित जिल्ला प्रशासन कार्यालय पुग्दा कर्मचारीहरु सेवाग्राहीको काममा व्यस्त थिए । धनगढी फर्किन हतारले कार्यालय खुल्नुअघि नै पुगेका खड्का त्यतिबेला चकित भए, जव ९ नबज्दै उनको काम सम्पन्न भयो । 

एउटा व्यक्तिलको ईच्छाशक्ति र सकारात्मक सोचले सरकारी संयन्त्रप्रति रहेको नकारात्मक धारणा चिर्न योगदान पुगेको खड्काले बताए ।

निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले सेवाग्राहीको सुविधा र सहजताका लागि कार्यालय समयभन्दा तीन घण्टा अतिरिक्त सेवा सञ्चालन गरेका हुन् । उनले बढ्दो सेवाग्राहीको चापलाई मध्यनजर गर्दै क्षेत्रगत आधारमा जोर बिजोर सेवा समेत प्रवाह गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय अछाम देशभरीमै त्यस्तो एक कार्यालय हो, जुन कार्यालयमा सेवाग्राहीले सेवा लिन कार्यालय समय कुर्नु पर्दैन । अरु कार्यालय आफ्नो समयमा खुल्छन्, आफ्नो सुविधा र सहजता अनुसार खुल्छन् । जिल्ला प्रशासन कार्यालय अछाम सेवाग्राहीको समयमा खुल्छ ।