जम्मु कश्मीरमा फेरि आरीघोप्टे वर्षा, ७ जनाको मृत्यु

एजेन्सी । भारतको जम्मु कश्मीरमा रहेको काठुवा जिल्लामा बादल फाटेर आएको आरीघोप्टे वर्षाका कारण सातजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
वर्षापछि आएको बाढी र पहिरोले सातजनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले खबर प्रकाशन गरेका छन् । जोध घाटी भन्ने ठाउँमा बाढीमा परेर पाँचजनाको मृत्यु भएको छ भने जाङलोटेमा पहिरोमा पुरिएर दुईजना मरेका छन् । शनिवार राति र आइतवार बिहान यो घटना भएको हो ।
वर्षाका कारण एउटा रेलमार्ग, नेशनल हाईवे–४४ र प्रहरी चौकी पनि क्षतिग्रस्त भएको केन्द्र सरकारका मन्त्री तथा जम्मु कश्मीरका सांसद जितेन्द्र सिंहले बताए । राहत तथा उद्धार कार्यहरू चलिरहेको उनले बताए । काठुवामा मुसलभारे वर्षा हुने भनी स्थानीय प्रशासनले चेतावनी जारी गरेको छ ।
यसअघि गत साता जम्मु कश्मीरमै किश्तवाडमा आरीघोप्टे वर्षा हुँदा ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए । अझै पनि ८२ जना हराइरहेका छन् ।
तपाईको प्रतिक्रिया