स्वास्थ्य मन्त्री पौडेल गेटा अस्पतालको अवलोकन गर्न आज कैलाली आउँदै

बुधबार भदौ ४, २०८२/ Wednesday 08-20-25
Paschim Today

धनगढी । स्वास्थ्य मन्त्री प्रदीप पौडेल बुधवार (आज) गेटा अस्पतालको अवलोकन र इमर्जेन्सी सेवाको उद्घाटन गर्न आउँदै छन् । गत वर्ष पुस २३ गते गेटा अस्पतालको अवलोकन गरेका मन्त्री पौडेल दोस्रो पटक गेटा अस्पतालमा आउन लागेका हुन ।

उनी यसअघि आउँदा गेटमै स्वागत गरेका स्थानीयले भने यस पटक विरोध गर्ने कार्यक्रम राखेका छन् । मन्त्री भएपछि पहिलो पटक अस्पतालको अवलोकन गर्न आएका बेला गरेका प्रतिबद्धता अनुसार काम नगरेर उल्टै अहिले ३ महिना अघि नै सञ्चालन भएको इमर्जेन्सी सेवाको उद्घाटन गर्ने तयारी गरेपछि स्थानीयले विरोध गरेका हुन ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत रहने गरी स्थापना गरिएको अस्पताललाई ३ सय शय्याको अस्पताल बनाउनु पर्ने मागको बेवास्ता गर्दै चर्चाका लागि इमर्जेन्सी सेवाको उद्घाटन गर्ने तयारी गरिएको स्थानीय विनोद विष्टले बताए । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठन गरिएको सङ्घर्ष समितिका सदस्य समेत रहेका उनले विश्वविद्यालय सञ्चालनको प्रक्रिया अगाडि बढाउनु पर्नेमा ५० बेडको अस्थायी अस्पतालमा १० बेडको इमर्जेन्सी सेवा उद्घाटन गरेर अझै विश्वविद्यालय पछाडि धकेल्न खोजिएको बताए ।

उनले १० बेडको इमर्जेन्सी उद्घाटन गर्ने भन्दा पनि ३ सय बेडको अस्पताल उद्घाटन गर्नुपर्ने बताउँदै त्यसो गरिए आफूहरूले स्वागत गर्ने बताए । उनले १० बेडको इमर्जेन्सीको उद्घाटन गर्ने प्रयास गरे भने विरोध गर्ने बताए । सङ्घर्ष समितिका सचिव धर्म सिंह कुँवरले जबरजस्ती इमर्जेन्सी बेडको उद्घाटन गर्न खोजिए कडा प्रतिकार गर्ने बताए ।

सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले विश्वविद्यालयको विधेयक र ऐन आएको बेलामा तीन महिना भित्र रजिस्टार भिसी नियुक्त गर्नुपर्ने प्रावधान भएको बेलामा ती कामको बेवास्ता गर्दै १० बेडको इमर्जेन्सी उद्घाटन गर्नु लज्जास्पद भएको बताए । उनले तीस सय शय्याको अस्पताल बनाइसक्नुपर्ने बेलामा यस्तो कामले लज्जित बनाएको बताए ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक गत जेठ ४ गते प्रतिनिधिसभाबाट पारित भएर असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो । तर ऐन कार्यान्वयनमा आएको महिना दिन बितिसक्दा समेत विश्वविद्यालय सभाको गठन र पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढेको छैन ।

यसअघि पुस २३ गते गेटा अस्पतालको अवलोकन गर्न आएका बेला भने मन्त्री पौडेलले असार सम्म ३ सय शय्याको अस्पताल सञ्चालन गर्ने लक्ष्य राखेको बताएका थिए । उनले ३ सय शय्याको अस्पताल बनाउन ६०/६५ करोड लाग्ने भएकाले त्यो रकम जुटाउन नसके असार सम्म १ सय बेडको भने जसरी पनि अस्पताल सञ्चालन गर्ने बताएका थिए । उनले एमबिबिएसको पढाइ आगामी शैक्षिक सत्र देखि गर्न सकिने र त्यसका लागि तत्काल चिकित्सा शिक्षा आयोगबाट निर्णय गराएर ३ सय शय्याको अस्पताल ३ वर्ष नचलेको भए पनि विशिष्ट अवस्थाका कारण एमबिबिएसको पठाइ गर्न सकिने बताएका थिए ।

आफैले बोलेका कुराको बेवास्ता गर्दै ७ महिना पछि पुन आउन लागेका स्वास्थ्य मन्त्री पौडेलले अहिले ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैँ ३ महिना अघि नै सञ्चालन भएको १० बेडको इमर्जेन्सी बेडको उद्घाटन गर्ने तयारी गरेपछि चर्को विरोध भएको छ ।

अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले बुधवार स्वास्थ्य मन्त्री पौडेलले गेटा अस्पतालको इमर्जेन्सी सेवाको उद्घाटन गर्ने तय भइसकेको बताए । मन्त्री पौडेल डोटी र डडेल्धुराका कार्यक्रममा सहभागी हुन आउने क्रममा गेटा अस्पतालको इमर्जेन्सी सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । गेटा अस्पताल २०८० कार्तिक १ गतेदेखि सञ्चालनमा आएको थियो ।