ट्रम्पको चेतावनी– दुई हप्तामा रुस–युक्रेन युद्धविराम नभए अमेरिकाले ठुलो निर्णय लिनेछ

शनिबार भदौ ७, २०८२/ Saturday 08-23-25
Paschim Today

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई हप्तामा युक्रेन युद्धको शान्तिपूर्ण समाधान नभए रुसमाथि कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिएका छन्।   

अगस्ट १५ मा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटघाटको एक हप्तापछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। 

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,ʻम चाँडै निर्णय गर्नेछु। यो धेरै महत्त्वपूर्ण निर्णय हुनेछ। चाहे त्यो ठुलो मात्रामा प्रतिबन्ध होस्, कर होस् वा दुवै। हामी यो पनि भन्न सक्छौँ कि यो तपाईंको लडाई हो, अमेरिकाको होइन।ʼ

उनले युक्रेनको एक अमेरिकी कारखानामा हालै भएको रुसी आक्रमणप्रति आक्रोश व्यक्त गरे। यो आक्रमणबाट कारखानामा आगलागी भएको थियो भने धेरै कामदारहरू घाइते भएका छन्।

ʻम यसमा खुसी छैन, न त युद्धबारेमा केही पनि,ʼ ट्रम्पले भने।

उनले भने,ʻरुस–युक्रेन युद्धमा जे भइरहेको छ त्यसबाट म खुसी छैन। अर्को दुई हप्ताले यसले कुन दिशा लिनेछ भनेर देखाउनेछ।ʼ

ट्रम्पले रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ताको वकालत पनि गरे। उनले आफ्नो कार्यकालमा सातवटा युद्ध रोकेको र तीनवटा सम्भावित युद्धलाई टारेको दाबी गरे।

यसअघि अगस्ट १८ मा, राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्ने प्रयासबारे छलफल गर्न युरोपेली नेतासँग ह्वाइट हाउसको भ्रमण गरेका थिए।

जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले पुटिन–जेलेन्स्की भेटघाटको व्यवस्था गर्न थालेको बताए।

यद्यपि अगस्ट १५ मा अलास्कामा ट्रम्प र पुटिनबीच शिखर सम्मेलन भए पनि रुस र युक्रेन युद्धविराममा सहमत हुन सकेनन्।