बैतडीको दशरथचन्द नगरपालिकाद्वारा ‘उज्यालो दरशथचन्द’ कार्यक्रम शुभारम्भ

सोमबार भदौ ९, २०८२/ Monday 08-25-25
Paschim Today

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले ‘उज्यालो दरशथचन्द’ कार्यक्रम शुभारम्भ गरेको छ । नगरपालिकाभित्रका मुख्य बजार, सार्वजनिक स्थान र मन्दिरमा बत्ती बाल्ने उद्देश्यले यो कार्यक्रम शुभारम्भ गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रको प्राविधिक सहयोगमा आइतबार साँझ नगरपालिकाले गोठलापानी, गढी र शाहीलेक बजारमा ७२ वटा बल्ब जडान गरी कार्यक्रमको शुभारम्भ गरेको छ । नगर प्रमुख पुष्करराज जोशीले विद्युत् प्राधिकरणमा राखिएको स्वीच अन गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

‘उज्यालो दशरथचन्द’ कार्यक्रमका लागि गत आर्थिक बर्ष २०८१/८२ मा ९ लाख ९९ हजार ७ सय ३५ रुपैयाँ बजेट राखिएको थियो । गत असारमा जडान गरिएका बल्बलाई आइतबार साँझ बालेर शुभारम्भ गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए । उनले भने, ‘यो कार्यक्रमका लागि चालु आर्थिक बर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजारको बाँकी भाग र अन्य बजार क्षेत्रमा यही बजेटबाट बत्ती जडान गरिनेछ ।’

चालु आर्थिक बर्षमा नगरपालिका देहीमाण्डौं, मुस्याचौर, झुलाघाट लगायतका बजार र सार्वजनिक स्थानमा बत्ती बाल्ने योजना रहेको नगर प्रमुख जोशीले बताए । उनले भने, ‘दशरथचन्द नगरपालिकाको नीति कार्यक्रमअनुसार यो कार्यक्रम सुरु गरिएको हो । उज्यालो दशरथचन्द कार्यक्रमले नगरपालिकाभित्रका सबै सार्वजनिक स्थानलाई समेट्नेछ ।’

विद्युत् लाइन रहेको ठाउँमा राष्ट्रिय प्रसारण लाइन र नपुगेका सार्वजनिक स्थानहरूमा सौर्य बत्ती जडान गरिने नगर प्रमुख जोशीले बताए । ‘उज्यालो दशरथचन्द’ अभियानले बजार तथा सार्वजनिक स्थानको सुन्दरता एवं सुरक्षामा पनि सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।