गौरा पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षणमा योगदान: प्रदेश प्रमुख मियाँ

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले गौरा पर्वले नेपालको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुर्याइरहेको बताएका छन् ।
गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले गौराले आपसी प्रेम र सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समेत बताएका छन् ।
पर्वले सामाजिक सद्भावसहित सम्पूर्ण नेपालीबीच भावनात्मक एकता र आपसी भाइचारा अभिवृद्धि गर्दै नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षा प्रदेश प्रमुख मियाँले व्यक्त गरेका छन् । घरपरिवारबाट टाढा रहेका आफन्तहरू समेत यो पर्वमा आफ्ना घर फर्किने भएकाले पारिवारिक मिलनमा पनि यो पर्वको विशेष महत्त्व रहेको प्रदेश प्रमुखको भनाइ छ ।
उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवम् दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।
सुदूरपश्चिममा मनाइने गौरा पर्वको मुख्य दिन आज दुर्वाष्टमी (अठ्यावाली) मा भक्तजनहरूले गौरा मन्दिरको आँगनमा गौराको पूजा गर्ने परम्परा छ। हिजो साँझ गौराघरमा भित्र्याइएको गौरालाई आज बर्तालु महिलाहरूले विशेष विधिपूर्वक पूजा गर्नेछन्।
यसैबीच, गौरापर्वकै अवसरमा सुदूरपश्चिम प्रदेशमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको छ ।
तपाईको प्रतिक्रिया