गौरा पर्वको अवसरमा मिसनकर्मी ऐर सम्मानित

सोमबार भदौ १६, २०८२/ Monday 09-01-25
Paschim Today

 

धनगढी । डोटीको शिखर नगरपालिका स्थायी घर भई कैलाली र कञ्चनपुरमा बसोबास गर्दै आइरहेका व्यक्तिहरूलाई समावेश गरि स्थापना गरिएको शिखर काफली सेवा समाजले आइतबार कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटमा गौरा पर्व कार्यक्रम गरेको छ।

समाजको आयोजना भएको कार्यक्रममा सहभागी व्यक्तिहरूसँग अन्तरक्रिया तथा देउडा खेली गौरा पर्व मनाइएको हो।

समाजका अध्यक्ष छत्रबहादुर महराको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य डम्मरीकुमारी महरा (रक्षा)को प्रमुख आतिथ्यमा सो कार्यक्रम गरिएको हो।सो अवसरमा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य महराले पछिल्लो समय आफ्नो मौलिकता र संस्कृति लोप हुँदै जाँदा मानवमा सामाजिक कार्य गर्ने भावना हट्दै गएको बताए।

उनले भनिन्, ‘समाज सेवा गर्ने उद्देश्यले स्थापित समाजहरूमा राजनीतिक गर्ने कार्य नभई सेवा गर्ने भावना राखेर काम हुन जरुरी रहेको छ।अहिले बसाइँसराइका कारण थुप्रै व्यक्तिहरूलाई आफनो एतिहासिक बसोबास, धार्मिक मूल्यमान्यता, संस्कृतिबारे जानकारी छैन।ती इतिहासको संरक्षण र जगेर्ना कार्य यस्ता समाजहरूले गर्न जरुरी रहेको छ।

सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान सदस्य तथा पूर्वमन्त्री टेकबहादुर रैकाले सबै वर्ग समुदायलाई समाज आवश्यक पर्ने भएकाले समाजमा मिलनसार, सेवा भाव राख्न जरुरी रहेको बताए।उनले पछिल्लो समय आफनो समाजबाट टाढिएर एक्लै बसेका व्यक्तिहरूले मलामी समेत नपाउने गरेको देखिएको बताए।

यस्तै समाजले डोटीको शिखर नगरपालिका घर भई कैलालीमा विगत लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरूलाई सम्मान गरेको छ।सम्मानित हुनेमा कान्तिपुर दैनिकका उपसम्पादक टेकराज जोशी, गोदावरी मिडियाका सञ्चालक गोविन्द रोश्यारा, मिसन टुडे राष्ट्रिय दैनिकका संवाददाता शेरबहादुर ऐर र रैकवार खबरका पदम सुनार रहेका छन्।

सम्मानित पत्रकारहरूलाई सुदूरपश्चिम प्रदेश सभा सदस्य महराले दोसल्ला ओढाएर तथा प्रमाणपत्र दिएर सम्मानित गरेकी थिइन्।