टीकापुरमा राति आतंक मच्चाउने चितुवा नियन्त्रणमा

बिहीबार भदौ १९, २०८२/ Thursday 09-04-25
Paschim Today

 

टीकापुर । कैलालीको टीकापुर बहुप्राविधिक शिक्षालयमा राति आएर आतङ्क मच्चाउने चितुवालाई बुधबार नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले चितुवालाई ट्रयापमा पारेर नियन्त्रणमा लिएको हो ।

चितुवाले भदौ १ गते शिक्षालयभित्र पसेर बाख्रा र भदौ ३ गते कुकर खाएपछि नियन्त्रणमा लिन वन कार्यालयमार्फत बर्दिया राष्ट्रिय निकुञ्जको सहयोग मागिएको थियो । निकुञ्जले भदौ ४ गते राखेको ट्रयापमा बुधबार बिहान २ बजेतिर भाले चितुवा थुनिएर नियन्त्रणमा आएको शिक्षालयका प्रमुख पारस खड्काले बताए ।

नियन्त्रणमा आएको चितुवा बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले बुधबार बेलुका निकुञ्जतिर लगेको छ । टीकापुर प्राविधिक शिक्षालय टीकापुर पार्कलगायत कर्णाली किनारमा सामुदायिक वनसँग जोडिएको छ । ‘बाघको सङ्ख्या बढेकाले ठूलो जंगलमा चितुवा टिक्न सक्दैनन्’ सव–डिभिजन वन कार्यालय टीकापुरका फरेष्टर भिष्मराज ओझाले भने, ‘जङ्गलको बाहिरपट्टि बस्ने भएकाले आहार खोज्दा गाउँनजिक भएकाले गाउँतिर आउने गरेको देखियो ।’