बस्ती जोगाउन तटबन्ध निर्माण गरिने

सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले बाढी विस्थापितका समस्याप्रति सरकार गम्भीर रहेको बताएका छन । दोधाराचाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको शनिबार स्थलगत निरीक्षणका क्रममा गृहमन्त्री लेखकले बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको बताएका हुन । 

गत साता जोगबुढा नदीको बाँध भत्किएर दोधाराचाँदनी नगरपालिका–८, रामपुरे टापु, सुन्दर बस्ती, पटराखल्ला र जर्गामा बाढी पस्दा ५७ घर डुबानमा परेका थिए । उक्त भत्किएको बाँधको स्थलगत अनुगमन गर्दै गृहमन्त्री लेखकले जोगबुढा नदीबाट बस्ती जोगाउन तटबन्ध निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट छुट्याइएको बताएका हुन् । बाढीबाट बस्ती जोगाउन महाकाली नदी र जोगबुढा नदीका धेरै स्थानमा तटबन्ध निर्माणको काम भइरहेको बताउँदै गृहमन्त्री लेखकले भत्किएका स्थान र अन्य ठाउँमा पनि यसै वर्षदेखि काम अगाडि बढ्ने जानकारी दिए । बाढीबाट विस्थापितले गृहमन्त्री लेखकलाई राहतभन्दा पनि बस्ती जोगाउन तटबन्ध निर्माणको माग गरेका छन् । 

यसै गरी गृहमन्त्री लेखकले शनिबार महाकाली प्रादेशिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै यसै महिनामा निजामती कर्मचारी ऐन पारित भएर राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यान्वयनमा आउने बताए । वर्तमान सरकारले कानुनी नीतिगत सुधार गरेर सुशासनका काम गरेको उनको भनाइ थियो । गृहमन्त्री लेखकले सरकारले नागरिकतासम्बन्धी ऐन ल्याएर आमाका नामबाट समेत सन्तानले नागरिकता पाउने संविधानको व्यवस्थालाई सुनिश्चित गरेको बताए । 

गृहमन्त्री लेखक शुक्रबार बिहान निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको २८ औँ वार्षिक साधारण सभा एवं १५ औँ अधिवेशनको उद्घाटन गर्न कञ्चनपुरको महेन्द्रनगरमा आएका हुन् ।