जेनजी नेपालले भन्यो– निहित समूहले भिडलाई उत्तेजित बनायो, सबै जना घर फर्किनुहोस्

सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

काठमाडौं : सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका नयाँ पुस्ताका युवा (जेनजी)हरुले घर फर्किन आग्रह गरेको छ। जेनजी नेपालले सामाजिक सञ्जालबाट प्रदर्शन नियन्त्रण बाहिर गएपछि तत्कालै सबैलाई घर फर्किन आह्वान गरेको हो। 

सूचनामा भनिएको छ, ‘कृपया सुरक्षित रूपमा सकेसम्म चाँडो बाहिर निस्किनुहोला। धेरै निहित  समूहहरूले भिडलाई उत्तेजित बनाइरहेका छन्। कृपया सकेसम्म चाँडो सुरक्षित रूपमा बाहिर निस्कनुहोस्। हाम्रो आजको दिन सफल भइसकेको छ । आज सुरक्षित रूपमा घर जानुस् ।’

जेनजी पुस्ताको प्रदर्शन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेको छ। प्रशासनले सोमबार मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु लगाएको हो।

बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्वमिन भवन,शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखी दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु जारी भएको प्रशासनले जनाएको छ। 

यसअघि सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी संसद् भवन भित्र प्रवेश गरेका थिए। त्यसक्रममा जेनजी पुस्ता र प्रहरीबीच झडप भएको थियो। भीड नियन्त्रण लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो।  

सरकारले समयसीमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले काठमाडौंको माइतिघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन्।