शान्ति–सुरक्षाको कमान्ड सेनाको हातमा

२५ भदौ काठमाडौं । नेपाली सेनाले मंगलबारदेखि आन्तरिक शान्ति–सुरक्षाको कमान्ड लिएको छ । सेनाले आन्दोलनरत युवा समूहलाई वार्ताका लागि आह्वान गरेको छ भने सेनाकै सुरक्षा रणनीतिअनुसार रातिदेखि संयुक्त रूपमा सुरक्षाफौज परिचालन भएको छ । मंगलबारै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलन स्थगित गरेर वार्तामा आउन आन्दोलनकारीलाई आह्वान गरेका हुन् ।
आन्दोलनका क्रममा मंगलबार दिउँसो सरकारी निकायमा भएको ठुलो क्षतिपछि साँझदेखि सेनाको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ । नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न भन्दै सेनाले राति १० बजेदेखि सेना र सुरक्षा निकाय संयुक्त रूपमा परिचालित भएको सेनाले जनाएको छ ।
‘सम्पूर्ण राष्ट्रवासीलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौँ,’ सेनाले विज्ञप्तिमा भनेको छ, ‘तत्पश्चात् सुरक्षा स्थितिको पुन: मूल्यांकन गरी थप सूचना जारी गरिनेछ ।’
सेनाले लुटपाटमा संलग्नलाई बेलुका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । उता नेपाल प्रहरी र सशस्त्र प्रहरीले मंगलबार शान्ति–सुरक्षाका लागि सहयोग गर्न अपिल जारी गरेका छन् । संयुक्त सुुरक्षा परिचालनको मोडालिटीबारे सेनाले थप बताएको छैन । तर, अर्को सुरक्षा निकायका एक उच्च अधिकारीले तत्काललाई सेनाको नेतृत्व र उसको सुरक्षा रणनीतिअनुसार सबै सुरक्षा निकाय परिचालित भएको र यो बाध्यात्मक अवस्था भएको बताए ।
‘हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्तिसमेतमा अत्यधिक क्षति पुर्याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधि नगर्न/नगराउन नेपाली सेना पुन: आह्वान गर्दछ,’ सेनाले मंगलबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसअघि राष्ट्रको नाममा सन्देश जारी गर्दै प्रधानसेनापति सिग्देलले विषम परिस्थितिमा निकासका लागि आन्दोलनरत समूहलाई वार्ताको लागि आह्वान गरेका छन् । ‘यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहहरूलाई आन्दोलनका कार्यक्रम स्थगित गरी वार्ताको निमित्त आह्वान गर्दछौँ,’ प्रधानसेनापतिले भनेका छन् । उनले जनधनको क्षतिप्रति गहिरो दु:ख प्रकट गरेका छन् ।
‘आन्दोलनको क्रममा हालसम्म धेरै जनधनको क्षति भइसकेको हुँदा जनधनको थप क्षति हुन नदिन, शान्ति–सुरक्षा, अमन–चयन एवं राष्ट्रिय एकता र सद्भाव कायम गर्नु हामी सबै नेपालीको साझा दायित्व हो,’ प्रधानसेनापतिले भनेका छन्, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रिय एवं ऐतिहासिक सम्पदा, सार्वजनिक एवं नागरिकहरूको सम्पत्ति, आमनागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिई राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो ।’
सेनाले मंगलबार दिउँसो पनि विज्ञप्ति जारी गरी राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेको थियो । सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन पनि आह्वान गरेको थियो । मंगलबारै प्रधानसेनापति सिग्देल, मुख्यसचिव एकनारायण अर्याल, गृहसचिव गोकर्णमणि दवाडी, सशस्त्रका आइजिपी राजु अर्याल, नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङ र अनुसन्धान विभागका प्रमुख हुतराज थापाले सार्वजनिक विज्ञप्ति जारी गरी विषम परिस्थितिमा जनधनको थप क्षति हुन नदिन र राजनीतिक संवादमार्फत निकास निकाल्न आह्वान गरेका थिए ।
नयाँ पत्रिकाबाट .....
तपाईको प्रतिक्रिया