अन्तरिम सरकारका तीन मन्त्रीले लिए सपथ

काठमाडौं । जेन–जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेको छ ।
ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङ, गृहसहित कानुन मन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री सम्हालेका रामेश्वर खनालले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नेछिन् ।
मन्त्रिपरिषद्मा आएका यी तिनै पात्र विषय विज्ञ हुन् । गृहसहित कानुन मन्त्री सम्हालेका अर्याल कानुनविद् हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि उनी चर्चामा आएका थिए । उनी हाल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार पनि हुन्।
सुशीला कार्कीको अन्तरिम सरकार प्रमुख नियुक्ति क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्नमा पनि उनी संलग्न थिए । शपथ ग्रहण समारोहमा पनि उनी सहभागी भएका थिए ।
त्यस्तै, पूर्वअर्थसचिव खनाल देशको अर्थतन्त्रका ज्ञाता हुन् । अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा जानकार उनी यो परिस्थितीमा उपयुक्त पात्र मानिन्छन् ।
ऊर्जामन्त्रीमा अर्को नाम कुलमान घिसिङलाई नचिन्ने प्रायः कोही होलान् । उनी उज्यालो नेपालका नायक मानिन्छन् । आफ्नो व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङबाट मुक्त गराएको भनी आमजनतामा लोकप्रिय घिसिङलाई केही महिनाअघि मात्रै केपी शर्मा ओली सरकारले नै प्राधिकरणबाट बर्खास्त गरेको थियो।
तपाईको प्रतिक्रिया