यस्तो छ अर्थमन्त्रीको पहिलो निर्णयले बनेको कार्यदल, एक सय अर्बका योजना घटाउने लक्ष्य

मंगलबार भदौ ३१, २०८२/ Tuesday 09-16-25
Paschim Today

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गर्दै बजेटमा समावेश भएका खुद्रे आयोजना हटाउने सम्बन्धमा अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरे ।  मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख सुमन दाहालको संयोजकत्व रहने गरी उक्त कार्यदल गठन गरिएको थियो । 

कार्यदलमा रहने थप दुई जनाको समेत टुङ्गो लागेको छ । सहसचिवद्वय उत्तर कुमार खत्री र धनीराम शर्मा रहने गरी कार्यदल बनाइएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।

खत्री राजश्व व्यवस्थापन महाशाखाका प्रमुख हुन् भने शर्मा वैदेशिक सहायता तथा समन्वय महाशाखाका प्रमुख हुन् । कार्यभार सम्हाल्दै गर्दा अर्थमन्त्री खनालले खुद्रे आयोजनाको कटौतीबाट मात्रै बजेटबाट एक सय अर्ब रुपैयाँ बचत हुने अनुमान गरेका थिए । कार्यदलले सोही बराबर बचत गर्ने गरी सुझाव दिने जनाइएको छ । 

 

 

 

चालु आर्थिक वर्षको बजेटमा सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । यसमध्ये ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ बराबरको पुँजीगत खर्च रहेको छ ।