एक महिनामा २३ अर्बको निर्यात

बुधबार असोज १, २०८२/ Wednesday 09-17-25
Paschim Today

चालु आवको पहिलो महिनामा निर्यात व्यापार ह्वात्तै बढेको छ। कुल वस्तु निर्यात ९५.७ प्रतिशतले वृद्धि भई २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ९.६ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारततर्फको निर्यात १५६.७ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६५.२ प्रतिशत र १.४ प्रतिशतले कमी आएको छ।

वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैंची, जुटका सामान लगायत वस्तुको निर्यात बढेको छ भने जिंक सिट, पार्टिकलबोर्ड, ऊनी गलैंचा, पिना, चिया लगायत वस्तुको निर्यात घटेको छ।

चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा एक खर्ब १९ अर्ब ११ करोड रुपैयाँ बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार कुल वस्तु व्यापार घाटा २.५ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ०.४ प्रतिशतले वृद्धि भएको थियो। चालु आवको पहिलो महिना अर्थात् गत साउनमा कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा०.६ प्रतिशतले कमी आएको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, १४.१ प्रतिशत र २०.५ प्रतिशतले वृद्धि भएको छ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, चामल/धान, कोइला, रासायनिक मल लगायत वस्तुको आयात बढेको छ भने हट रोल्ड सिट इनक्वाइल, खाने तेल, पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टस्, तेलहन लगायत वस्तुको आयात घटेको छ।

समीक्षा अवधिमा निर्यात आयात अनुपात १६.७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत थियो। समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ अर्ब ९८ करोड रुपैयाँ बराबर भएको थियो।