राष्ट्रिय सम्पत्तिको पुनर्निमाणमा निजी क्षेत्रको पूर्ण साथ र सहयोग हुन्छः अध्यक्ष मल्ल

काठमाडौं । निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले राष्ट्रिय सम्पत्तिको पुनर्निमाणमा निजी क्षेत्रको पुर्ण साथ र सहयोग गर्ने बताएका छन् ।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालसँग भेटवार्ता गर्दै मल्लले राष्ट्रिय सम्पत्तिको पुनर्निमाणमा निजी क्षेत्रको पुर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गरी पुनर्निमाणका लागि राहत कोष स्थापना गर्नुपर्ने उनको धारणा रहेको छ ।उनले भने,‘सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत लगायतका महत्वपूर्ण सरकारी संरचनाहरू पुनर्निर्माणका लागि निजी क्षेत्र र व्यक्तिगत तवरमा पनि सरकारलाई सहयोग गर्न हामी तयार छौं, मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि गर्न सरोकारवाला सवै निकाय जिम्मेवार भएर लाग्न आवश्यक छ ।’
निजी क्षेत्रमा भएको भौतिक क्षतिको बीमा प्रक्रीया लगायात अन्य सहजीकरण गर्नका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्नेमा मल्लले जोड दिए । मल्लले आन्दोलनबाट प्रभावित उद्यमी तथा व्यवसायीहरूका लागि राहतका कार्यक्रमहरू तत्काल ल्याउन आवश्यक रहेको उल्लेख गरे ।
उनले मुलुकमा रोजगारीको वातावरण सिर्जना गरी युवाहरूको अपेक्षा पूरा गर्नुपर्नेमा विशेष जोड दिए । युवालाई पार्टटाइम रोजगारी उपलब्ध गराउन सकेमा तत्कालीन समस्याको केही हदसम्म समाधान हुने उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया