पुँजी बजारको समस्या समाधान गर्ने : अर्थमन्त्री
बिहीबार नेप्से परिसूचकमा तीनपटक सर्किट ब्रेक लागेपछि अध्ययन गर्न कार्यदल गठन

काठमाडौं ४ असोज । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पुँजी बजारको समस्या समाधान गर्न सक्रियता देखाएका छन् । जेन–जी आन्दोलनपछि पहिलोपटक बिहीबार खुलेको सेयर बजार नेप्से परिसूचक तीनपटक उच्च दरमा घटेपछि अर्थमन्त्री खनालले पुँजी बजारमा देखिएका समस्या पहिचान र समाधानको उपाय खोज्न कार्यदल नै गठन गरेका हुन् । बजारमा देखिएका समस्या र विसंगति अध्ययन गरी समाधानका लागि अर्थ मन्त्रालयले कार्यदल गठन गरेको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । कार्यदलले लगानीकर्ताको मनोबल बढाउने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझावसहित ठोस कार्ययोजना पाँच कार्यदिनभित्र पेस गर्ने उनले बताए ।
अर्थमन्त्रीस्तरको शुक्रबारको निर्णयअनुसार बनेको कार्यदलमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक (कामु) रूपेश केसी संयोजक छन् । त्यस्तै, नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका कार्यकारी निर्देशक (कामु) निरञ्जन फुयाँल सदस्य छन् । अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य सचिवका रूपमा छन् । मन्त्रालयका अनुसार कार्यदलले तत्कालीन समस्या समाधान र पुँजी बजारलाई दीर्घकालीन रूपमा सुदृढ बनाउनुपर्ने कदमबारे ठोस कार्ययोजना ल्याउने अपेक्षा गरिएको छ ।
१६ भदौमा २७६१.८६ विन्दुमा पुगेको बजार परिसूचक त्यसपछि निरन्तर ओरालो लागिरहेको छ । यसबिच ६ कार्यदिन मात्रै खुलेको बजारमा २४९.९५ अंकले परिसूचक घटेको छ । बजार पुँजीकरण ४१ खर्ब ९९ अर्ब रुपैयाँ कायम भएको छ । बिहीबार नेप्से परिसूचक १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा रोकियो । बजार खुलेको करिब एक घण्टामै तीनपटक सर्किट ब्रेक लागेर नेप्से बन्द भयो । जेन–जी आन्दोलनका कारण स्थगित भएको सेयर बजारमा खुलेको पहिलो दिन नै ठुलो पहिरो गएपछि अर्थमन्त्रीले समस्या पहिचान र सुधारको अध्ययनका लागि कार्यदल गठन गरेका हुन् ।
सरकारले पुँजी बजारका समस्या पहिचान र सुधारका लागि भन्दै पटक–पटक अध्ययन तथा सुझाव कार्यदल गठन गर्दै आइरहेको छ । तर, त्यस्ता कार्यदलले दिएका सुझाव कार्यान्वयनको अवस्था भने कमजोर रहेको छ ।
तपाईको प्रतिक्रिया