क्लिन अप नेपालको १३ औं साधारणसभा सम्पन्न, पारदर्शिता र जवाफदेहितामा जोड
काठमाडौं । वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपालको १३ औं साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, वित्तीय अनुशासन, सामाजिक जवाफदेहिता तथा आगामी कार्यदिशाबारे समीक्षा गरिएको छ।
साधारणसभामा क्लिन अप नेपालका साधारण सदस्य, स्थानीय तहका प्रतिनिधि, सरकारी विद्यालयका प्रतिनिधि, विकास साझेदार तथा सहयोगी निकाय, निजी क्षेत्र, सञ्चार संस्था र संस्थाका कर्मचारीसहित करिब ८० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा गर्दै आएका गतिविधिबारे जानकारी गराइएको थियो।
कार्यक्रममा क्लिन अप नेपालका अध्यक्षले संस्थाले पारदर्शिता, जवाफदेहिता र प्रभावकारितालाई प्राथमिकतामा राख्दै काम गरिरहेको बताए। उनले वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रमा स्थानीय समुदाय, सरकार तथा सरोकारवाला निकायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
साधारणसभामा आर्थिक वर्ष २०८२/८३ मा संस्थाले सञ्चालन गरेका कार्यक्रम तथा गतिविधिको समीक्षा गरिएको थियो। संस्थाले आगामी दिनमा कार्यक्रमलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।
कार्यक्रममा क्लिन अप नेपालकी कोषाध्यक्ष सिमोन शेरचनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। यस्तै, सुजन एस. एण्ड एसोसिएट्सका चार्टर्ड एकाउन्टेन्ट सुजन सुवेदीले वित्तीय लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा संस्थाको वित्तीय अवस्था, कार्यक्रम तथा प्रशासनिक खर्चलगायतका विषय समेटिएका थिए।
साधारणसभामा सामाजिक परीक्षणसमेत गरिएको थियो। कार्यक्रममा संस्थाको कार्यसम्पादन, पारदर्शिता, वित्तीय अनुशासन र सामाजिक उत्तरदायित्वका विषयमा सदस्य तथा सरोकारवालाबाट सुझाव लिइएको थियो।
कार्यक्रममा ICIMOD की Intervention Manager Erica Udas लगायत विभिन्न संघ–संस्था तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। सहभागीहरूले वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका लागि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
क्लिन अप नेपालले आगामी दिनमा पनि पारदर्शिता, जवाफदेहिता र सहकार्यमा आधारित संस्थागत अभ्यासलाई थप सुदृढ गर्दै स्वच्छ, स्वस्थ तथा दिगो समुदाय निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।






तपाईको प्रतिक्रिया