डा. टीएन जोशी नेपाल नाट्य–प्रतिष्ठानको प्रदेश अध्यक्षमा नियुक्त
धनगढी १ असोज । वरिष्ठ साहित्यकार, संस्कृतिविद् एबम् सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका संस्थापक उपकुलपति डा.टीएन जोशी नेपाल नाट्य प्रतिष्ठानको सुदूरपश्चिम प्रदेश अध्यक्षमा नियुक्त हुनु भएको छ।
नेपाल नाट्य प्रतिष्ठान केन्द्रीय समितिको पोखरामा सम्पन्न बैठकले डा.जोशीलाई प्रतिष्ठानको प्रदेश अध्यक्षमा मनोनयन गरेको हो।नेपाली नाटक, रंगमञ्च र भाषा–संस्कृतिको विकास र समृद्धिको लागि स्थापित नेपाल नाट्य प्रतिष्ठानले देशका सबै प्रदेशमा संगठन विस्तार गरेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रा.डा.रामचन्द्र पोखरेलले बताए।
प्रतिष्ठानले सुदूरपश्चिम प्रदेशको नाट्य अवस्था,नाटक लेखन र यसको इतिहास,कलाकर्मीहरूको योगदान तथा नाट्य कृतिहरूको अध्ययन अनुसन्धान गरी अभिलेखिकरण गर्नुका साथै नेपाली नाटकको श्री बृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गर्ने प्रदेश अध्यक्ष डा.जोशीले बताए। उनले छिटै नै सुदूरपश्चिमका सबै जिल्लाहरूलाई समेटेर प्रदेश कार्यसमिति विस्तार गरिने पनि बताए।
नेपाल नाट्य प्रतिष्ठानको प्रदेश अध्यक्ष मनोनयन हुनु भएका जोशी सुदूरपश्चिमका विभिन्न कलेजमा लामो समयदेखि नेपाली भाषा साहित्यको प्राध्यापनरत हुनुहुन्छ। डा.जोशी ऐतिहासिक कैलाली जनपुस्तकालयको निवर्तमान अध्यक्ष, सुदूरपश्चिमाञ्चल साहित्य समाजको पूर्व उपाध्यक्ष,नेपाल प्रेस युनियन कैलालीको संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य लगायत थुप्रै संघसंस्थामा रही प्रशंसनीय कार्य गरिसकेका व्यक्ति हुन्।
प्रदेश सरकार अन्तर्गत् रहेको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका प्रथम संस्थापक कार्यकारी उपकुलपतिको चार वर्षै कार्यकाल पुरा गरी हालै बाहिरिएका डा.जोशीले प्रज्ञाप्रतिष्ठानको गरिमालाई निकै ओजपूर्ण बनाएका थिए। उनको कार्यकालमा नेपाली भाषा, साहित्य,कला र संस्कृतिको विकासमा उल्लेखनीय कार्य भएका छ्न्।
राष्ट्रिय प्रतिभा पुरस्कार,राष्ट्रिय शिक्षा पुरस्कार, नेपाल विद्याभूषण क लगायत दर्जनौं पुरस्कारबाट सम्मानित डा.जोशीले आगामी दिनमा नेपाली भाषा–संस्कृतिको विकासमा आफू सकृय रहने र कृति प्रकाशनमा जोड दिने योजना रहेको बताए। उनले आगामी माघ २३,२४ र २५ गते प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा नेपाली नाटक दोस्रो अन्तर्राष्ट्रिय सेमिनार आयोजना हुन लागेको समेत बताए।







तपाईको प्रतिक्रिया