हिमाली सुनामीबाट प्रभावित नेपालीको सहयोगका लागि छचल्किएको अमेरिकी प्रेम

मंगलबार असोज ६, २०८३/ Tuesday 09-22-26
Paschim Today

दीर्घराज उपाध्याय ।
कोलोराडो ।

अमेरिकाको कोलोराडो राज्यको दक्षिण–पश्चिमी भागमा अवस्थित सानो शहर डुराङ्गो । डेनभर डाउनटाउनबाट झण्डै ५४२ किमी दूरीमा रहेको त्यही शहरको मध्यभागमा रहेको हिमालयन किचेन (रेस्टुरेन्ट) मा सोमबार बिहान थेगिनसक्नु भीड थियो । सोमबार प्रायः बन्द रहने हिमालयन किचेन यस पटक भने लञ्चका लागि खुला थियो । त्यो पनि चार घण्टाका लागि । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म । हिमालयन किचेनले कोभिडपछि बन्द गरेको बुफे लञ्चमा सहभागी हुन पूरै डुराङ्गो उर्लिएझैँ लाग्थ्यो ।

सप्ताहन्तको बिदापछिको पहिलो दिन । काममा व्यस्त रहने समय । डुराङ्गो शहरका बासिन्दा भने कामलाई थाती राखेर सोमबार बिहानैदेखि हिमालयन किचेनमा लामबद्ध थिए । एनिमस नदीको किनारको शान्त डुराङ्गोको त्यो भीड भोकले उर्लिएको भीड थिएन । त्यो भीड उर्लिएको थियो, हिमाली सुनामीबाट प्रभावित नेपालीहरूको सहयोगका लागि ।

उनीहरूको सेवामा खटिएका थिए, हिमालयन किचेनका मालिक कर्मा टी. भोटिया र उनकी पत्नी ज्यामुसहित कर्मचारीहरू । लञ्च कार्यक्रम भोटिया दम्पतीको नामबाट खोलिएको गैरनाफामुखी संस्था कर्मा एन्ड ज्यामु फाउन्डेसनका तर्फबाट आयोजना गरिएको थियो ।

त्यो बुफे आयोजनाको उद्देश्य थियो, भोटेकोशीको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि सहयोग जुटाउनु । प्रतिव्यक्ति बुफेको शुल्क तोकिएको थियो, ३० डलर । र, त्यसबाहेक सहभागीहरूले आफ्नो गच्छेअनुसार सहयोग गर्नका लागि त्यहाँ क्यूआर कोडसँगै दानपेटिकाको व्यवस्था गरिएको थियो ।

चार घण्टाको अवधिमा चार सयभन्दा बढी ग्राहक बुफेमा सहभागी भए । उनीहरूले खानाको ३० डलर मात्र भुक्तानी गरेनन्, फर्किने क्रममा १० डलरदेखि एक हजार डलरसम्म सहयोग गरे । ग्राहकहरूको अनपेक्षित संख्या देखेर दंग परेका भोटिया दम्पती त्यतिबेला थप चकित भए, जब उनीहरूबाट प्राप्त सहयोग गनेर भ्याए । चार घण्टाको लञ्चबाट २४ हजार १७३ डलर संकलन भएको थियो ।

सुन र चाँदीको खानीका रूपमा चिनिने डुराङ्गो ऐतिहासिक र पर्यटकीय शहर हो । जनसंख्या र भूगोलका हिसाबले भने सानो शहर ।

भूगोल र जनसंख्या होइन, त्यहाँ बस्ने मानिसहरूको हृदय कति विशाल छ, त्यो ठूलो कुरा हो । लञ्चमा सहभागी हुन उर्लिएको भीड देखेर चकित कर्मा टी. भोटिया भन्छन्, पहाडको खोँचमा रहेको यो सानो शहरका मानिसहरूको हृदय विशाल रहेछ । हामी उहाँहरूप्रति आभारी छौँ ।

न कसैलाई व्यक्तिगत कल । न त पत्राचार । बुफेमा सहभागी भइदिन कर्माले सामाजिक सञ्जालमार्फत सबैलाई एकमुष्ट आग्रह गरे ।

तीन सय जनालाई लक्षित गरी हामीले खाना तयार गरेका थियौँ । त्यति मानिस पनि आउँछन् कि आउँदैनन् भन्ने द्विविधामा थियौँ । कर्मा भन्छन्, हामीले नसोचेको सहभागिता जुट्यो । बुफेकै बहानामा कतिपय साथीहरूसँग वर्षौँपछि भेट भयो ।

अढाई दशकअघि अमेरिका पुगेका संखुवासभाको दुर्गम च्यामताङ पुख्र्यौली घर भएका भोटिया दम्पती रेस्टुरेन्ट व्यवसायसँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । कर्मा एन्ड ज्यामु फाउन्डेसनमार्फत च्यामताङमा बाल विकास केन्द्र, विद्यालय भवन र पुस्तकालय स्थापना गरेका भोटिया दम्पतीले महाभूकम्प र कोभिडमा पनि सक्दो सहयोग मातृभूमिमा पठाए । यस पटक भोटेकोशीमा आएको प्रलयकारी बाढीले तहसनहस भएका बस्तीहरू देख्दा उनीहरू बेचैन भए । चुप लागेर बस्न सकेनन् । र, सहयोगका लागि बनाए फरक योजना । फाउन्डेसनमा आबद्ध अमेरिकी साथीहरूलाई सुनाए, त्यो योजना । सबैले उनको त्यो योजनाको मुक्तकण्ठले प्रशंसा मात्र गरेनन्, सहयोगका लागि साथ दिने समेत प्रतिबद्धता जनाए ।

उनको सोच, फाउन्डेसनका सदस्यहरूको साथ र डुराङ्गोका बासिन्दाको सहभागिता र सहयोगले लञ्च कार्यक्रम अभूतपूर्व रूपमा सफल भयो ।

लञ्च कार्यक्रममा भएको सम्पूर्ण खर्च कर्मा दम्पतीले बेहोरेका छन् । स्वयंसेवकहरूबाट सञ्चालन हुने फाउन्डेसनको प्रशासनिक खर्च अत्यन्त न्यून रहेकोले लञ्च कार्यक्रमबाट संकलित सम्पूर्ण रकम नेपालका बाढी प्रभावितहरूको सहयोगका लागि पठाउने कर्माले बताए ।

विपत्तिको घडीमा नेपाललाई साथ दिने डुराङ्गोका बासिन्दालाई उनले धन्यवाद दिए । कर्माले भने, डुराङ्गोका बासिन्दाको यो गुन हामी कहिल्यै बिर्सिने छैनौँ ।