परिधिले जितिन् ‘मिस लिटल एन्ड टिन फारवेस्ट नेपाल’को उपाधि
धनगढी । धनगढीमा शनिबार सम्पन्न ‘मिस लिटल एन्ड टिन फारवेस्ट नेपाल २०२६’ को ग्रान्ड विजेताको उपाधि धनगढीकी परिधि दाहालले जितेकी छन्। बाल्मीकी इन्टरनेसनल स्कुलमा कक्षा ६ मा अध्ययनरत परिधिले फाइनलका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन्। उनले गत वर्ष धनगढी डान्स च्याम्पियनसिपको उपाधिसमेत जितेकी थिइन्।
प्रतियोगितामा बिन्दु जोशीले ‘मिस टिन ग्लोबल इन्टरनेसनल नेपाल’, प्रतिभा खड्काले ‘मिस टिन फारवेस्ट नेपाल २०२६’ र प्रिन्शिका भण्डारीले ‘मिस लिटल फारवेस्ट नेपाल २०२६’को उपाधि जितेका छन्। निर्मला बम र विशेषता खड्का उपविजेता घोषित भए।
न्यु राइज इन्टरटेनमेन्टको आयोजनामा भएको प्रतियोगिताका सहभागीलाई फाइनलअघि २२ दिनसम्म मोडलिङ, व्यक्तित्व विकास, आत्मविश्वास, प्रतिभा प्रस्तुति तथा मञ्च प्रस्तुतिसम्बन्धी प्रशिक्षण दिइएको थियो।
बालबालिका तथा किशोर–किशोरीमा लुकेका प्रतिभा पहिचान र व्यक्तित्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। न्यु राइज इन्टरटेनमेन्टले सन् २०१८ देखि यस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ।







तपाईको प्रतिक्रिया