कैलालीमा मौसमको त्रासबीच धमाधम धान कटाइ

शुक्रबार असोज २३, २०८३/ Friday 10-09-26
Paschim Today

धनगढी: मौसम अनुकूल नभए पनि कैलालीका किसान धान भित्र्याउन व्यस्त छन्। धान पाकेर बाला झुलेसँगै वर्षाको जोखिम बढेपछि किसानले धमाधम धान काट्न थालेका हुन्। असोजको पहिलो साता परेको वर्षाले कतिपय खेतमा धान ढलेपछि किसानलाई थप चिन्ता बढेको छ। आकाशमा बादल देखिनासाथ पाकेको धान कसरी जोगाउने भन्ने चिन्ताले किसानलाई सताउन थालेको छ।

असोजको पहिलो साताको वर्षाले खेतमा धान ढालेपछि छिटो कटाइ गर्नुपरेको किसान बताउँछन्। ढलेको धान खेतमै लामो समय रहँदा बिग्रिने र उत्पादन घट्ने जोखिम हुने भएकाले किसानले मौसमको अवस्था हेर्दै कटाइलाई तीव्रता दिएका छन्। कतिपय किसानले हातैले धान काटिरहेका छन् भने कतिपयले ट्याक्टरलगायतका कृषि उपकरण प्रयोग गरेर धान भित्र्याइरहेका छन्।

कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार जिल्लामा छिटो र ढिलो पाक्ने दुवै जातका धान खेती गरिन्छ। पछिल्लो वर्षाले विशेषगरी छिटो पाक्ने जातको धानमा क्षति पुर्‍याएको उहाँले बताउनुभयो। पाकेको धान खेतमै ढलेपछि कटाइमा ढिलाइ गर्न नसकिने अवस्था रहेको उहाँको भनाइ छ।

कैलालीमा यस वर्ष करिब ६५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको छ। उक्त क्षेत्रफलबाट दुई लाख ९६ हजार एक सय मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको थियो। तर, वर्षाका कारण धान उत्पादनमा पाँचदेखि सात प्रतिशतसम्म कमी आउन सक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ।

यद्यपि, विगतका वर्षको तुलनामा यसपटक वर्षाले धानबालीमा ठूलो क्षति नगरेको सूचना अधिकारी विष्ट बताउनुहुन्छ। किसानमा मौसमसम्बन्धी सचेतना बढ्नु र समयमै धान कटाइमा ध्यान दिनुले क्षति कम गर्न सहयोग पुगेको उहाँको भनाइ छ। मौसममा हुने फेरबदलले उत्पादनमा थप असर पार्न सक्ने भएकाले किसान भने पाकेको धान सुरक्षित रूपमा भित्र्याउने हतारमा छन्।