लुम्बिनीमा आनीको नियुक्तिबारे स्पष्ट पार्न जेनजी अभियन्ताकाे माग

आइतबार कार्तिक ९, २०८३/ Sunday 10-25-26
Paschim Today

 धनगढी । जेनजी अभियन्ता अजय सोडारीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्नुको कारण र आधारबारे स्पष्ट पार्न सरकारसमक्ष माग राखेका छन् । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)लाई एक पत्र लेख्दै सात वटा विषयमा जवाफ दिन भनेका हुन् । 

‘लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्तिका लागि प्रचलित कानुनले निर्धारण गरेका योग्यता, मापदण्ड तथा प्रक्रिया के–के हुन् ?’ उनको पहिलो प्रश्न छ, ‘नियुक्तिमा ती प्रावधान पूरा भएको सुनिश्चित कसरी गरियो ?’

कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नै नियुक्त गर्दा उनको योग्यता, अनुभव तथा कार्यक्षमताको मुल्यांकन के कसरी गरिएको हो ? त्यसबारे पनि स्पष्ट पारिदिन सोडारीको माग छ । अघि भनेका छन्,  ‘आनी छोइङ डोल्मा नियुक्तिका लागि निर्धारित आवेदन तथा छनोट प्रक्रियामा सहभागी हुनुभएको थियो कि थिएन ? सहभागी नभएको अवस्थामा उहाँलाई नियुक्त गर्नुको आधार के हो ? आवेदकहरूको मूल्याङ्कन तथा छनोट प्रक्रियालाई कसरी अघि बढाइयो ?’

सोडारीले डोल्माको नागरिकताकाे वैधता र वित्तीय कारोबारको पारदर्शीताबारे पनि जवाफ मागेका छन् । ‘उहाँसँग सम्बन्धित वित्तीय कारोबार तथा रकमको स्रोतको पारदर्शितासम्बन्धी विषयमा सम्पत्ति शुद्वीकरण विभागबाट अनुसन्धान भइरहेको छ वा छैन ? भइरहेको भए, त्यसको कानुनी अवस्थालाई ध्यानमा राखी नियुक्ति गर्ने निर्णय कुन आधारमा लिइयो ?’ उनले सोधेका छन् ।