क्वालिफायर्स २ मा चितवन, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने
काठमाडौं । काठमाण्डू गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको क्वालिफायर्स २ मा प्रवेश गरेको छ ।
यो जितसँगै चितवनले क्वालिफायर्स २ मा सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको छ । एनपीएलको इतिहासमा टोली पहिलोपटक क्वालिफायर्स २ पुगेको हो । यसअघि चितवनले पहिलो सिजन इलिमिनेटरसम्म खेलेको थियो भने दोस्रो सिजन लिग चरणसम्म खेलेको थियो ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवले प्रस्तुत गरेको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डूले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४३ रन मात्र बनाउसक्यो ।
चितवनको जितमा रिजन ढकालले महत्त्वपूर्ण चार विकेट लिए । उनले चार ओभरमा १६ रन मात्र खचिँदै किफायती बलिङ गरे । उनको प्रदर्शत चितवनलाई काठमाण्डूमाथि सुरुआतदेखि नै दबाब बढाउन सहयोगी बन्यो ।
रिजनले पावर प्लेमै टोलीलाई दुई विकेट दिलाए । उनले १.२ ओभरमा साहिल पटेललाई देव खनालबाट क्याच गराए । दोस्रो विकेटको रूपमा रिजनले ओपनर साम हेजलिटलाई बोल्ड गरे ।
यसपछि उनले तेस्रो विकेटको रूपमा सोनु देवकोटलाई १५.३ ओभरमा कुशल मल्लबाट क्याच गराए । १७.२ ओभरमा रिजनले सन्तोष यादवलाई आफ्नो चौथो सिकार बनाए ।
पाकिस्तानी बलर उसमा मिरले तीन विकेट लिए । उनको प्रदर्शन काठमाण्डूको मध्यक्रम धरासायी बनाउन निर्णायक रह्यो । उनले विल बोसिस्टो, सेहन अरचिगे र कप्तान करण केसीलाई सस्तैमा पभेलियन फर्काए ।
त्यसैगरी, सलाहुदिन खान र कुशल मल्लले समान एक विकेट लिए ।
काठमाण्डूका मुख्य ब्याटरहरू लामो समय क्रिजमा टिक्न नसक्दा ब्याटिङमा सन्तोषजनक प्रदर्शन गर्न सकेन । टोली चितवनसामु निररिह भयो । ३७ रन बनाएका विलियम नै टोलीको निम्ति व्यक्तिगत सर्वाधिक रन बनाउने ब्याटर बने ।
अविजित रहेका भीम शार्कीले ३० रन बनाए । सेहनले २४ रन बनाए । रशिदले १२ रन बनाए । सन्तोषले १० रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्नसकेनन् ।
सोनुले ६ रन बनाए । गणेश गौतमले चार, सामले तीन र साहिलले दुई रन बनाए । कप्तान करण र जहानडाड खानले समान एक रन जोडे ।
त्यसअघि टस जितेर ब्याटिङ राजेको चितवनले काठमाण्डूविरुद्ध निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रनको योगफल खडा गरेको थियो ।
चितवनका निम्ति ओपनर कमिल मिसराले अविजित १२० रनको विस्फोटक शतकीय पारी खेले । मिसराको इनिङ उक्त विशाल लक्ष्यको मुख्य आधार बन्यो ।
एनपीएलमा उनको यो पहिलो शतक हो । योसँगै उनी जारी सिजन शतक प्रहार गर्ने दोस्रो ब्याटर बनेका छन् । यसअघि पोखरा एभेन्जर्सका ओपनर युवराज सम्राले कर्णाली याक्सविरुद्ध १०२ रनको शतकीय पारी खेल्दै पहिलो शतक प्रहार गरेका थिए ।
कमिलले ५९ बलमा पाँच चौका र १० छक्का प्रहार गरे । यसका साथै उनले जारी सिजन व्यक्तिगत सर्वाधिक रन बनाउने ब्याटरको पनि कीर्तिमान रचेका छन् । यसअघि यो कीर्तिमान सम्राको नाममा थियो ।
कप्तान रवि बोपाराले ५३ रनको अर्धशतकीय इनिङ खेले । एनपीएलमा रविको यो दोस्रो अर्धशतक हो । उनले यसअघि लिग चरणमा काठमाण्डूविरुद्धै पहिलो अर्धशतक प्रहार गरेका थिए । उनले अर्धशतक प्रहार गर्नेक्रममा ४२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे ।
यी दुईले टोलीको उक्त विशाल लक्ष्यमा १५४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । तर, १८.३ ओभरमा रवि बोल्ड भएपछि उक्त साझेदारी तोडिएको थियो ।
ओपनर देवले १७ रन बनाए । विवेक आठ रन बनाएर पभेलियन फर्किए ।
काठमाण्डूका निम्ति कप्तान करण र रसिदले समान दुई विकेट लिए ।
हारसँगै काठमाण्डू प्रतियोगिताबाट बाहिरिएको छ ।






2026-11-20-12-50-16.jpeg)
तपाईको प्रतिक्रिया