'युथ भिजन २०४०' निर्माणका लागि धनगढीमा छलफल

बिहीबार मङ्सिर ४, २०८३/ Thursday 11-19-26
Paschim Today

धनगढी । युवाको भविष्य, अवसर र विकासका प्राथमिकता निर्धारण गर्ने उद्देश्यले युथ भिजन २०४० निर्माणका लागि धनगढीमा प्रदेशस्तरीय परामर्श तथा छलफल भएको छ । बुधबार आयोजित कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्ण प्रकाश भट्टले युथ भिजन २०४० ले आगामी १५ वर्षपछि आउने युवाको भविष्य कस्तो हुने भन्ने मार्गनिर्देशन गर्ने बताए ।

प्रविधिको विकास तीव्र गतिमा भइरहेकाले आगामी दशकमा समाज, अर्थतन्त्र र राजनीतिमा कस्ता परिवर्तन आउनेछन् भन्ने अहिले नै अनुमान गर्न कठिन रहेको उनले बताए । यस्तो अवस्थामा युवाका लागि कस्तो भविष्य निर्माण गर्ने र उनीहरूलाई कसरी तयार पार्ने भन्ने विषयमा अहिलेबाटै सोच्नुपर्ने उनको भनाइ थियो ।

उनले युवाको परिभाषाभित्र १५ देखि ४० वर्ष उमेर समूह समेटिए पनि युवाभित्रको विविधता पहिचान गरी लक्षित कार्यक्रम बनाउन नसक्दा सबैले समान अवसर पाउन नसकेको बताए । युवाको आवश्यकता, अवस्था र सम्भावनाअनुसार नीति तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

यस्तै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिपेश घिमिरेले जनसङ्ख्या आफैंमा देशका लागि लाभ नभई त्यसलाई उत्पादनशील जनशक्तिमा रूपान्तरण गर्न सक्नु महत्त्वपूर्ण हुने बताए ।

नेपालमा सन् २०५० सम्म युवा जनसङ्ख्या बढ्ने भएकाले आगामी २५ वर्ष देशका लागि महत्त्वपूर्ण अवसर रहेको उनले बताए । यो अवधिमा युवाको सीप, क्षमता र श्रमलाई उपयोग गर्दै आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सके देशले ठूलो उपलब्धि हासिल गर्न सक्ने उनको भनाइ थियो ।

‘देशको कुल जनसङ्ख्यामा युवा जनसङ्ख्या बढी हुनु कुनै पनि देशले बिरलै पाउने अवसर हो । यो अवसर नेपालले सन् २०५० सम्म पाउनेछ,’ घिमिरेले भने, ‘सरकारले यो अवसर गुमाउनु हुँदैन ।’ उनका अनुसार युवा जनशक्तिलाई उत्पादनशील बनाउन नसके र आवश्यक रूपान्तरण गर्न नसके सन् २०५० पछि युवा जनसङ्ख्या वृद्धिको अवसर कमजोर हुँदै जानेछ । त्यसपछि नेपाली समाज बुढ्यौलीतर्फ उन्मुख हुँदा अहिले गर्नुपर्ने विकास र सुधारको अवसर गुमाएको मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ ।

यता सुदूरपश्चिम प्रदेश युवा परिषद्का उपाध्यक्ष गजेन्द्र सावदले युवाका सवाल र आवश्यकता समेटेर नीति निर्माण गर्नुपर्ने बताए। युवालाई रोजगारीमा मात्रै सीमित नराखी उद्यमशीलता, नेतृत्व विकास, नवप्रवर्तन र सामाजिक क्षेत्रमा सहभागी गराउने गरी युथ भिजन तयार हुनुपर्ने उनको भनाइ थियो। ‘युवाको सहभागिताबिना युवाका लागि बनाइने नीति प्रभावकारी हुन सक्दैन। उनीहरूका समस्या, आवश्यकता र सुझावलाई समेटेर दीर्घकालीन योजना बनाउन आवश्यक छ,’ उनले भने।

कार्यक्रममा प्रदेश युवा परिषद्का उपाध्यक्ष गजेन्द्र सावद, सामाजिक विकास मन्त्रालयका सचिव संगिता ओझा, युवा, श्रम तथा रोजगार मन्त्रालयका मन्त्रीका सल्लाहकार शंकर श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख मनिता श्रेष्ठ, यूएनएफपीए सुदूरपश्चिम प्रदेश प्रमुख राजकुमार ढुङ्गाना, जनसङ्ख्या तथा विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्चका कार्यकारी निर्देशक राम गुरागाईं, शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख जीवन न्यौपाने, विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधि र युवा परिषद्का पदाधिकारीहरूको सहभागिता थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का नीति तथा कार्यक्रम र आगामी कार्यदिशाबारे प्रस्तुतीकरण गरिएको थियो । युथ भिजन २०४० निर्माणका लागि सहभागीहरूले रोजगारी तथा उद्यमशीलता, शिक्षा तथा नवप्रवर्तन, युवा स्वास्थ्य तथा कल्याण, लोकतन्त्र तथा सुशासन, वातावरण तथा जलवायु कार्य, लैङ्गिक समानता, विविधता, सशक्तीकरण र डिजिटल रूपान्तरणका विषयमा सुझाव दिएका थिए ।

युवा नीति २०७२ तथा राष्ट्रिय युवा परिषद् ऐन २०७३ अनुसार जारी युथ भिजन २०२५ तथा दसवर्षे रणनीतिक योजनाको अवधि समाप्त भएपछि नयाँ राष्ट्रिय युवा नीतिका आधारमा युथ भिजन २०४० निर्माण प्रक्रिया अघि बढाइएको हो ।

राष्ट्रिय युवा परिषद्, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) र जनसङ्ख्या तथा विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्चको सहकार्यमा प्रदेशस्तरीय छलफल गरिएको हो । कार्यक्रमको समन्वय सुदूरपश्चिम प्रदेश युवा परिषद्ले गरेको थियो ।