ग्रामीण सडकमा यात्रुको चाप
डडेल्धुरा- दसैंतिहार जस्ता ठूला चाडपर्व सकिएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा मेलाजात्रा सुरु भएका छन्। यो सयममा डडेल्धुरा सदरमुकामबाट जिल्लाका ग्रामीण बस्तीसम्म पुग्ने र ग्रामीण बस्तीबाट सरदरमुकामसम्म पुग्ने सार्वजनिक यातायातको सीमित उपलब्धताले यात्रुलाई सास्ती हुन थालेको छ।
चाडपर्व र मेला–जात्रापछि गाउँ फर्किने तथा आफन्तकहाँ आवतजावत गर्ने यात्रुको संख्या बढे पनि सोहीअनुसार सवारीसाधनको सहज व्यवस्था नहुँदा ग्रामीण रुटमा यात्रुले घण्टौं कुर्नुपर्ने र महँगो भाडा तिरेर यात्रा गर्नुपर्ने अवस्था छ।
बैतडीको पाटन नगरपालिका–१० बाट डडेल्धुरा सदरमुकाम बसपार्क आइपुगेकी जानकी भट्टलाई आलिताल गाउँपालिकाको गाङ्खेत पुग्न सार्वजनिक सवारीसाधन पाउनै मुस्किल भयो। ग्रामीण रुटमा चल्ने जीपमा यात्रुको चाप भएपछि उनले तत्काल गाडी पाउन सकिनन्। अन्ततः सार्वजनिक यातायातमा साहुखर्कसम्म लाग्ने करिब एक सय रुपैयाँ भाडाको सट्टा अटोरिक्सालाई सात सय रुपैयाँ तिरेर गन्तव्यतर्फ जानुपर्यो।
जानकीको जस्तै समस्या अहिले ग्रामीण रुटमा यात्रा गर्ने धेरै यात्रुले भोगिरहेका छन्। सीमित संख्यामा सञ्चालन हुने जीपमा यात्रुको चाप बढ्दा सिट पाउनसमेत कठिन हुने गरेको छ। बैतडी सदरमुकाम गोठलापानी जान लागेका नमराज भट्टले पनि भीडभाडका कारण सहज यात्रा गर्न नपाएको बताए। सवारीसाधनको संख्या कम र यात्रुको चाप बढी हुँदा जीपमा ठेलमठेल गरेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए।
दसैंतिहारलगायतका चाडपर्वमा घर आएका तथा आफन्तसँग भेटघाट गर्न गाउँ पुगेका मानिसहरू फर्किन थालेपछि यातायातमा चाप बढेको हो। डडेल्धुरा सदरमुकामबाट जिल्लाका विभिन्न ग्रामीण बस्तीसम्म चल्ने साना जीपमा यात्रुको चाप देखिएको छ। गाउँबाट सदरमुकाम आउने यात्रुसँगै सदरमुकाम हुँदै तराईका जिल्ला र काठमाडौं जाने यात्रुको संख्या पनि बढेको छ।
सवारीसाधनको सीमितताले यात्रुलाई समस्या भए पनि चालकका लागि भने अहिले यात्रु अभाव छैन। जीप चालक लक्ष्मी अवस्थीका अनुसार सामान्य अवस्थामा यात्रु नपाएर कतिपय दिन खाली गाडी चलाउनुपर्ने हुन्छ। तर अहिले यात्रुको चापले गर्दा गाडी खाली चलाउनुपर्ने अवस्था नरहेको उनले बताए। सामान्य समयभन्दा यात्रु बढी हुँदा ग्रामीण रुटमा गाडी सञ्चालन गर्न भ्याइनभ्याइ हुने गरेको उनको भनाइ छ।
जिल्लाका अधिकांश ग्रामीण बस्तीसम्म सडक सञ्जाल विस्तार भए पनि नियमित र पर्याप्त सार्वजनिक यातायातको व्यवस्था हुन सकेको छैन। विशेषगरी कच्ची सडकमा सीमित सवारीसाधन सञ्चालन हुँदा यात्रुको चाप व्यवस्थापन गर्न कठिन हुने गरेको छ। चाडपर्व र मेला–जात्राका बेला यात्रुको संख्या बढ्ने गरेकाले यात्रुले सास्ती भोग्दै आएका छन्। -कान्तिपुरबाट







तपाईको प्रतिक्रिया