बैंकको कर्जा प्रवाह सुस्त हुँदा व्यवस्थापनमा राष्ट्र बैंकलाई भार

बिहीबार मङ्सिर ४, २०८३/ Thursday 11-19-26
Paschim Today

काठमाण्डाै – बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेअनुसार कर्जा प्रवाह हुन नसक्दा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई ठूलो आर्थिक भार परेको छ ।

बैंकहरूमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले त्यसको व्यवस्थापनका लागि गएको आर्थिक वर्ष मात्रै ब्याजबापत २२ अर्ब ८२ करोड रुपैयाँभन्दा धेरै खर्च गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो ।

बैंकहरूमा थुप्रिएको तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले गएको वर्ष निक्षेप सङ्कलन उपकरण, स्थायी निक्षेप सुविधा तथा ऋणपत्रमार्फत अर्बाैँ रुपैयाँ बजारबाट खिचेको थियो । बैंकहरूले यस्तो निक्षेपमा औसतमा २.७२ प्रतिशतसम्म ब्याज पाएका छन् ।

निरन्तर रूपमा तरलता व्यवस्थापनमा अर्बाैँ खर्चिन थालेपछि राष्ट्र बैंकले यसको वैकल्पिक उपायको खोजीसमेत थालेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिमा वित्तीय प्रणालीमा नेपाली मुद्राको आपूर्ति कम गर्न ‘स्टेरिलाइज्ड इन्टरभेन्शन’ गर्ने तथा वैदेशिक मुद्राबाटै भुक्तानी दिनेजस्ता व्यवस्था ल्याउने तयारी गरिरहेको केन्द्रीय बैंकले जनाएको छ ।

अर्थतन्त्रका जानकारहरूले कर्जाको माग नबढेसम्म अधिक तरलताको यो चुनौती कायम रहने बताएका छन् ।