Close This

नेकपाका वडाअध्यक्षमाथि कुटपिट

शनिबार माघ १८, २०७६/ Saturday 02-01-20
Paschim Today

बैतडी , १८ माघ ।

बैतडीको दशरथचन्द नगरपालिका वडा न. १० का नेकपाका वडा कमिटी अध्यक्ष प्रकाश लावडमाथि कुटपिट भएको छ । शुक्रबार दिउँसो वडा नं १० को कार्यालयकै प्रांगणमा लावडमाथि स्थानीय त्रिलोक विष्टले कुटपिट गरेको पीडित लाबडले बताए । लावडको दुवै हातमा चोट लागेको छ । 

पीडित लावडले भने, ‘मलाई एक्कासी किन कुटपिट गर्‍यो थाहा छैन। मदिरा सेवन गरेर ममाथि कुटपिट गर्‍यो । तँ ‘डुम’भनेर मलाई हातपात गर्‍यो । वडाका कर्मचारीहरु पनि केही बोलेनन् ।’

पीडित लावडको जिल्ला अस्पतालमा उपचार गरिएको छ । लावडको बायाँ हातको कुहिनो माथिको जोर्नी खुस्किएको र दायाँ हातको बुढी औला भाँचिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले बताए । उनले भने, ‘लावडको जिल्ला अस्पतालमा उपचार गरेका छौं । खुस्किएको भाग जोडेका छौं भने औंला पलास्टर गरेका छौं ।’

कुटपिट गर्ने विष्टलाई प्रहरीले शुक्रबार साँझ नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भइरहेको उनले बताए । घटना कसरी भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।