Close This

पुस्तकमा घोडाघोडी तालका चरा

सोमबार असार ३२, २०७५/ Monday 07-16-18
Paschim Today

पश्चिम टुडे, धनगढी ३२ असार ।
कैलालीको विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी ताल क्षेत्रमा पाईने चराहरुलाई पुस्तकमा उतारिएको छ । 
    यहाँ पाईने चराहरुको बारेमा वैज्ञानिक र तथ्य परक तरिकाले जानकारी दिने उद्देश्यले घोडाघोडी नगरपालिकाको सहयोगमा बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले घोडाघोडी नगरपालिका क्षेत्रका चराहरु नामक पुस्तक प्रकाशन गरेको हो । 
    उक्त पुस्तकको आइतवार धनगढीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले विमोचन गरे । पुस्तकमा घोडाघोडी ताल क्षेत्रमा पाईने चराहरुको सचित्र वर्णन गरिएको छ । 
    चरा संरक्षण र पर्यापर्यटनमा सहयोग पु¥याउने उद्देश्यले पुस्तक प्रकाशित गरेको घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले बताए । ‘घोडाघोडी ताललाई विश्व रामसारमा सूचीकृत गरिने आठ वटा आधारमध्ये एउटा आधार यहाँ पाईने चरा प्रजाति पनि हो’, उनले भने–‘त्यसैले चरा संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको हो ।’
    पुस्तकमार्फत चराको बारेमा प्रचार प्रसार हुने र पर्यापर्यटन विकास गर्नमा सहयोग पुग्ने जनाइएको छ । ‘घोडाघोडी ताल क्षेत्रमा पाइने चराहरुको बारेमा अहिलेसम्म व्यवस्थित विवरण थिएन । यो पुस्तकमा तथ्यमा आधारित जानकारी राखिएको छ ।’, प्रमुख चौधरीले भने–‘यसमार्फत चराको बारेमा प्रचार प्रसार हुनुका साथै चरा अवलोकनका लागि पर्यटक भित्र्याउनमा सहयोग पुग्नेछ ।’
    दुई हजार ७२६ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल क्षेत्रलाई सन २००३ मा विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो । यो क्षेत्रमा जलचर र थलचर गरी २९९ प्रजातिको चरा पाईन्छन् । जसमध्ये १३ वटा प्रजातिका चरा विश्वमै दुर्लभ रहेका छन् । विश्वमै दुर्लभ रहेका राजलहाँचे, घाँस घेघरी फिस्टो र सुनौलो तोप चरा पछिल्लो गणनाका क्रममा अभिलेख भएको नेपाल पङ्क्षी संरक्षण सङ्घका हिरुलाल डङ्गौराले जानकारी दिए ।  
    यसअघि, विश्वमै दुर्लभ मानिएका १० प्रजातिका चरा घोडाघोडी पाइएको अभिलेख थियो । यसैगरी, नेपालमै दुर्लभ मानिने २८ प्रजातिका चरा घोडाघोडी ताल क्षेत्रमा पाईन्छन् । साइटिसको अनुसूची दुई मा परेका ४१ र अनुसूची एकमा परेका दुई प्रजातिका चरा घोडाघोडी ताल क्षेत्रमा रहेका छन् । 
    दुर्लभ चरा प्रजातिको समेत बासस्थान रहेको घोडाघोडी ताल क्षेत्रमा सूचक प्रजातिका ३७४ वटा हरिहाँस छन् । सूचक प्रजातिकै रुपमा घोडाघोडी तालमा मगर गोही र जङ्गली धान पनि पाइन्छ । 
    घोडाघोडी ताल क्षेत्र जलचर र थलचर दुवै किसिमका चराहरुको बसोबास स्थान रहेकाले यहाँ पर्यापर्यटन, पङ्क्षी अभयारण्य (बर्ड स्न्याक्चुरी) र प्रांकृतिक चिरियाखानाको सम्भावना रहेको बताइएको छ । 
    घोडाघोडी ताल क्षेत्रको एकद्वार प्रणालीमार्फत संरक्षण र पर्यापर्यटन विकासको लागि व्यवस्थित रुपमा पहल थालेको नगर प्रमुख चौधरीले बताए । आफ्नै नेतृत्वमा गठित बोर्डमार्फत संरक्षण र विकासको गतिविधि अगाडि बढाउन सहज हुने उनले उल्लेख गरे । 
    घोडाघोडी ताल क्षेत्रमा चोरी सिकार नियन्त्रणमा आउन नसकेकाले चरा संरक्षणमा चुनौती पनि रहेको छ । यद्यपि, नेपाल पङ्क्षी संरक्षण सङ्घ, चरा संरक्षण नेटवर्क सुखड, समुदायमा आधारित चोरी सिकारी नियन्त्रण कार्य दलको पहलमा चोरी सिकार नियन्त्रणको प्रयास पनि भइरहेको जनाइएको छ ।