Close This

‘अखण्डताका लागि आवाज उठाउँदै आएको छु’

आइतबार भदौ २४, २०७५/ Sunday 09-09-18
Paschim Today

पश्चिम टुडे, धनगढी २४ भाद्र । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले देशको राष्ट्रियता, स्वाधीनता र अखण्डताका लागि आफूले जुनसुकै अवस्थामा पनि आवाज उठाइरहेको बताएका छन् । 
बिमस्टेकको चौथो शिखर सम्मेलन पश्चात भारतीय प्रधानमन्त्रीले आफ्नो देशमा बिमस्टेक राष्ट्रका सेनाहरुबीच सैन्य अभ्यास हुने कुरा व्यक्त गरेकाले नेपालले त्यसमा सहभागि हुन नहुनेमा आफूले स्पष्ट धारणा राखेको र यसले नेपालको हितमा काम नगर्ने बताए । अछाम सदरमुकाम मंगलसेनमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले नेपालको नक्सामा कालापानी लगायतका क्षेत्र हटाएर नियोजित रुपमा प्रचार गराईएको र यस्तो गर्नेलाई कारबाही गर्नुपर्ने बताए । 
पूर्व मन्त्रीसमेत रहेका रावलले अहिलेको नेकपाको दुई तिहाइ सरकार रहेको र यसले देशको राष्ट्रियतामा असर पुग्ने कुनै काम नगर्ने स्पष्ट पारे । आफूले २०५२ सालतिरै तत्कालिन एमाले नेता भरतमोहन अधिकारी, सुवास नेम्बाङ र आफू हेलिकोप्टर लिएर कालापानीको अनुगमन गरी सदनमा कुरा राखेको उनले बताए । 
सरकार गठन भएका ६ महिना भएको भन्दै अहिले नै सबै कुराको आश गर्न उचित नहुने नेता रावलको भनाई छ । स्थानीय, प्रदेश र संघको संरचना, कर्मचारी व्यवस्थापन, विभिन्न ऐन कानून निर्माण लगायतका काम भएको भन्दै विकास निर्माणका कार्यले पनि गति लिईरहेको बताए ।
सरकार र पार्टी विकासमा शुशाशन, गुणस्तरीयता र पारदर्शीताका लागि प्रतिबद्ध रहेको भन्दै कतै अनियमितता भए पार्टीले गम्भीर रुपमा हेर्ने बताए । पार्टी एकताको कार्यले निकै प्रगति गरिसकेको भन्दै उनले आगामी असोज पहिलो हप्ताभित्र जिल्ला कमिटी गठन भइसक्ने बताएका छन् । 
प्रदेश नम्बर ७ को स्थायी राजधानीको सन्दर्भमा आफूहरुले सुझाव दिएको र प्रतिवेदन समेत बुझाईसकिएकोले त्यसलाई प्रदेश सांसदहरुले अन्तिम रुप दिने रावलले बताए । अछाम जिल्लाका विभिन्न सडकलाई मूल सडकमा राख्न केन्द्रलाई पहल गरेको भन्दै अपर कर्णाली जलविद्युत परियोजना समयमै निर्माणमा जिएमआर कम्पनीले तत्परता नदेखाए उक्त आयोजना नेपाल सरकारले नै बनाउनु पर्नेमा उनले जोड दिए । 
कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा पनि पार्टीले गम्भिर रुपमा लिएको र पार्टीका नेता लेखराज भट्टलाई छानविनका लागि जिम्मा दिएको र प्रतिवेदन बुझाउने क्रममा रहेको बताए । अपराधिलाई कुनै हालतमा छोडिन नहुने भन्दै घटनालाई अनर्गल गर्न समेत नहुनेमा उनले जोड दिए । पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर, प्रतिनिधि सभा सदस्य यज्ञ बोगटी, प्रदेश सांसद, नेकपा नेता, नगर प्रमुख लगायतको सहभागिता रहेको थियो ।