Close This

एसओएस बालग्रामको सामाजिक परीक्षण सम्पन्न

सोमबार असोज २९, २०७५/ Monday 10-15-18
Paschim Today

धनगढी, २९ असोज । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले बालगृहरुलाई व्यवस्थित बनाउनका लागि मापदण्ड आवश्यक रहेको बताएका छन् । कैलालीको गेटास्थित एसओएस बालग्रामको सामाजिक परिक्षण कार्यक्रममा बोल्दै मन्त्री सोडारीले प्रदेश सरकारले चाडै बालगृहको मापदण्ड बनाउने बताए ।
 कतिपय बालगृहरु मापदण्ड नै पुरा नगरेर संचालनमा रहेकाले व्यवस्थित बनाउनका लागि मापदण्ड आवश्यक रहेको उनले बताए । मन्त्री सोडारीले सुदूरपश्चिम प्रदेशलाई अनाथ बालबालिका सडकमा नभएको प्रदेश बनाउन चाहेको बताए । उनले एसओएस बालग्राम सामाजिक परिक्षण गर्ने पहिलो बालगृह भएको बताए ।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले एसओएस बालग्रामको स्वामित्व सरकारले लिनुपर्ने बताए । उनले भने, ‘यसलाई प्रदेशकै सरकारी स्वामित्वको बालगृह बनाउनका लागि धनगढी उपमहानगरपालिका तयार छ ।’ धनगढी उपमहानगरपालिकाले बालगृहका लागि यस पटक ४ लाख बजेट बिनियोजन गरेको पनि नगर प्रमुख वडले बताए ।
नेपाल रेडक्रम सोसाईटी कैलालीका अध्यक्ष उत्तम जोशीले एओएस बालग्रामले टुहुरा बालबालिकाहरुलाई असल अभिभावकत्व दिएको बताए । उनले भने, ‘यहाँ रहेका बालबालिकाहरुले अभिभावक छैनन् भन्ने कुराको महसुससम्म गर्न पाएका छैनन् ।’
एसओएस बालग्रामका निर्देशक पदम हमालले सामाजिक परिक्षण कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेका थिए । यस संस्थाले १ सय ६ जना टुहुरा बालबालिकाहरुलाई पारिवारिक माया ममताका साथ संरक्षण गरेर पालेको उनले बताए । उनीहरुको शिक्षादिक्षाको सबै जिम्मेवारीसमेत संस्थाले नै गरेको छ । 
स्थानीय सरकारको सिफारिसका आधारमा आमा–बुवा दुवै गुमाएका ५ वर्षमुनिका बालबालिकाहरुलाई एसओएसले संरक्षण गर्ने गर्दछ ।