बझाङमा श्रमिकले ज्याला पाएनन्

आइतबार श्रावण ३२, २०७७/ Sunday 08-16-20
Paschim Today

बझाङ, ३२ साउन । बझाङमा साइपाल गाउँपालिका वडा नं ३ र ४ जोड्ने रामोखोला झोलङ्गे पुलको उपभोक्ता समितिमा विवाद हुँदा श्रमिकले एक वर्ष बितिसक्दा पनि ज्यला नपाएको गुनासो गरेका छन् ।

गत वर्ष निर्माण शुरु भएको पुलको खोदानको काम सकिएको भए तापति मजदूरले ज्याला नपाएको बताएका छन् ।

स्थानीयवासी हरजित बोहराले भन्नुभयो, “हामीले काम गरेको एक वर्ष भइसक्यो,  दैनिक एक घण्टामा एक सयका दरले बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म मरीमेटी काम ग¥यौँ, समितिलाई ज्याला माग्दा आनाकानीकानी गरेका छन् ।”

उपभोक्ता समितिका अध्यक्ष प्रेम बोहराले पहिलेको उपभोक्ता समितिमा विवाद आएको र  त्यसले नयाँ समितिलाई हिसाबकिताब नबुझाएकाले कामदारलाई नदिएको बताउनुभयो ।

पुरानो उपभोक्ता समितिका अध्यक्ष धनवीर बोहराले भने आफूले काम गराएको र सम्पूर्ण हिसाबकिताब नयाँ समितिलाई हस्तान्तरण गरिसकेकाले आफ्नो कुनै जिम्मेवारी नरहेकोे बताउनुभयो । रासस