परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जली

शुक्रबार पौष १९, २०८१/ Friday 01-03-25
Paschim Today

काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छिन् । 
मन्त्री राणाले शुक्रबार काठमाडौंस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्वराष्ट्रपति एवं नोबेल शान्ति पुरस्कार विजेता कार्टरको स्मृतिमा त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाली जनता, नेपाल सरकार र आफ्नो तर्फबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनको परिवारजनमा समवेदना प्रकट गरेकी हुन् ।


पूर्वराष्ट्रपति एवं कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरको एक सय वर्षको उमेरमा गत डिसेम्बर २९ मा निधन भएको थियो । परराष्ट्रमन्त्री राणाले पूर्वराष्ट्रपति कार्टरलाई एक प्रजातन्त्रवादी नेता तथा नेपालका सच्चा मित्रका रूपमा सम्झिएकी छिन् । उनले शोक सन्देशमा भनेकी छिन्, 'पूर्वराष्ट्रपति कार्टर, परोपकार, शान्ति तथा प्रजातन्त्रका क्षेत्रमा एक उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो । अमेरिकाको राष्ट्रपतिका साथै कार्टर सेन्टरको संस्थापकका रुपमा रहेर उहाँले मानवअधिकार तथा प्रजातान्त्रिक मूल्य मान्यताका पक्षमा निर्वाह गर्नुभएको भूमिकाको सर्वत्र प्रशंसा हुने गर्दछ ।'

नेपालमा संविधानसभाको निर्वाचनका समयमा सन् २००७ र २०१३ मा कार्टरले गरेको नेपाल भ्रमणको स्मरण गर्दै परराष्ट्रमन्त्री राणाले कार्टर नेपालका एक सच्चा मित्र र शुभचिन्तकका रुपमा नेपालमा सधैँ शान्ति र प्रजातन्त्रका पक्षमा रहेको उल्लेख गरेकी छिन् ।